
गत शुक्रबार काठमाडौंको टुँडिखेलमा एक सांगीतिक कार्यक्रमका बीच लभस्टोरी फिल्म ‘कुमारी’को घोषणा गरिएको थियो । त्यस कार्यक्रममा गायक केहर सिंह लिम्बू र उनको ब्यान्ड केहर एन्ड द लुङ्गाले फिल्मका लागि तयार पारेको गीत ‘कहाँ छौ’ दर्शकमाझ प्रस्तुत गरेको थियो । सोही प्रस्तुतिको भिडियोसहित सोमबार उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
प्रेमका भावना व्यक्त यस गीतमा ‘कुमारी’बाट पार्श्व गायनमा डेब्यु गरेका केहर सिंह लिम्बूको स्वर सुन्न सकिन्छ । यसमा उनको ब्यान्डका सदस्यहरूको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा फिल्मको घोषणा, पोस्टर अनावरण तथा कलाकारहरूको परिचय समेत समावेश गरिएको छ । फिल्मका अरु दुईवटा गीत पनि केहरले नै गाएका छन् ।
भोलि मंगलबारबाट छायांकन सुरु हुने फिल्मको निर्देशन दिनेश राउतले गर्नेछन् । लभस्टोरी फिल्मका लागि परिचित उनी करिब ८ वर्षपछि आफ्नै जनरामा फर्किएका हुन् । ‘कुमारी’मा अबिशेक खड्का र आकृति राजभन्डारीको मुख्य भूमिका रहनेछ ।अबिसेकले यसअघि फिल्म ‘बेहुली फ्रम मेघौली’मा अभिनय गरेका थिए । आकृति भने चर्चित गीत ‘बार्दली’की मोडल हुन् ।
‘प्रकाश’का निर्माता महेन्द्र अधिकारीको लगानी रहने यस फिल्ममा अबिशेक र आकृतिसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहार लगायतको पनि अभिनय रहनेछ । बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बन्न लागेको यो फिल्ममा विकास सुवेदीको लेखन रहेको छ ।
फिल्ममा सुसन प्रजापतिको छायांकन, सुप्रिम पराजुलीको रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापाको कोरियोग्राफी, केहर सिंह लिम्बू, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संगीत तथा सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेको गीत रचना रहनेछ । ‘कुमारी’लाई यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

