Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गुरुङ समुदायबारे ‘रिमै’ बलियो दस्ताबेज हुनेछ : दयाहाङ राई

फिल्मीखबर, काठमाडौं, 2025/08/31

Dayahang Rai

 

दयाहाङ राई नेपालका एक मात्र यस्ता कलाकार हुन्, जसले आदिवासी जनजाति समुदायको कथामा बनेका मूलधारका प्रायः फिल्ममा काम गरेका छन् । उनले राई, गुरुङ, लिम्बू, थारु जस्ता समुदायको पात्र निभाइसकेका छन् । यसैले पनि उनको परिचय ‘सांस्कृतिक नायक’को रूपमा बनेको छ । फरक-फरक समुदायको कथामा काम गर्न पाएकोमा उनी आफूलाई ‘लक्की’ ठान्छन् ।

हालै काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘विभिन्न समुदायको कथामा काम गरेको हिसाबले म जति ‘लक्की’ कोही छैन जस्तो छैन । थोरै भए पनि बुझ्ने र हेर्ने अवसर पाएको छु । तर, अझै धेरै समुदायको कथामा काम गर्न बाँकी छ । म राई भएर राईभित्रकै त बुझ्न सकेको छैन । त्यो बुझ्ने चिज केही हदसम्म फिल्मबाट भैरहेको छ । त्यो मानेमा आफूलाई ‘लक्की’ ठान्छु ।’

तर, आफूले विभिन्न समुदायको कथामा काम गरिरहेको भए पनि पात्रलाई न्याय गर्न नसकेको दयाहाङ निर्धक्क स्वीकार गर्छन् । भन्छन्, ‘इमानदारसाथ भन्नुपर्दा मैले पात्रलाई न्याय गर्न सकेको छैन । म जति राई समुदायलाई बुझ्छु, त्यति नै गुरुङ समुदायलाई बुझ्न लामो अभ्यास गर्नुपर्छ । आवरणमा म त्यो समुदायको जस्तो देखिन्छु होला, तर नियालेर हेर्दा गुरुङ वा मगरजस्तो त देखिन्नँ ।’

यही भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’मा दयाहाङले एकपटक फेरि गुरुङ पात्रको भूमिका निभाएका छन् । यो फिल्ममा काम गर्दा गुरुङ समुदायभित्रको पनि अर्को संस्कार र संस्कृतिलाई बुझ्न पाएको उनी बताउँछन् । उनका अनुसार यो फिल्मको कथा नेपाली समाज र फिल्म क्षेत्रकै लागि नयाँ आयाम हुनेछ । फिल्ममा यो कथा आउनै पर्थ्यो भन्ने पनि उनलाई लाग्छ ।

‘यो फिल्मको कथा फिल्म क्षेत्रका लागि नयाँ आयाम हुनसक्छ । मैले खेलेका कारण यो भनेको होइन कि, मैले नखेलेको भए पनि यो कथा नेपाली फिल्म र समाजका लागि नयाँ चिज हो,’ उनी अगाडि भन्छन्, ‘हाम्रो जीवन दर्शन, विश्वास पद्धतिहरू हामीबीच देखभेट भएको छैन । सुनेका मात्र छौं । त्यो हिसाबले जुन कथा यो फिल्ममा आएको छ, त्यो आउन अत्यन्त जरुरी थियो र आयो ।’

उनी ‘रिमै’ भोलिका दिनमा नेपाली समाज र विशेषगरी गुरुङ समुदायको अध्ययन गर्नेका लागि बलियो दस्ताबेज हुने दाबी गर्छन् । ‘अहिले त यो फिल्म बन्यो । अब प्रदर्शन हुन्छ । धेरैका लागि यो सामान्य प्रक्रिया हो । तर, भोलिको पुस्ताले गुरुङ समुदायबारे बुझ्न खोज्दा यो फिल्म एउटा बलियो दस्ताबेज हुनेछ, जहाँबाट नयाँ जीवन दर्शन र विश्वास पद्धतिलाई देख्न सकिनेछ,’ उनी सुनिए ।