
‘हिँड्दा हिँड्दै’का निर्देशक मिलन आले मगरले नयाँ फिल्मको घोषणा गरेका छन् । उनको निर्देशनमा बन्ने फिल्मको नाम ‘पूरा भयो सपना मेरो’ राखिएको छ । आइतबार थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मबारे जानकारी दिएका हुन् ।
सामाजिक प्रेमकथामा आधारित हुने यो फिल्मको छायांकन दशैंपछि सुरू गरिने जनाइएको छ । रोशिका फिल्म्सको प्रस्तुति रहेको फिल्मका कलाकारबारे केही दिनमा जानकारी दिइने निर्देशक मगरले बताए । फिल्मका निर्माता एकराज थापा हुन् । यसमा उनी स्वयंको कथा लेखन रहेको छ ।
निर्देशकीय हिसाबले मिलनको ‘पूरा भयो सपना मेरो’ चौथो फिल्म हुनेछ । ‘हिँड्दा हिँड्दै’भन्दा अगाडि उनले ‘लक्ष्य’ र ‘सत्या’ बनाएका थिए । उनले ‘पूरा भयो सपना मेरो’लाई अघिल्ला फिल्मभन्दा कथावाचनको हिसाबले उत्कृष्ट बनाउने दाबी गरेका छन् ।

