यस वर्षको प्रथम चौमासिक अवधि (बैशाख, जेठ, असार र साउन) समाप्त भइसकेको छ । यो चार महिनामा लगभग दुई दर्जन बढी फिल्म प्रदर्शनमा आए । त्यसमध्ये जम्मा दुईवटा फिल्मले मात्र व्यावसायिक सफलता हासिल गरेका छन् । यस वर्षको पहिलो हिट फिल्म ‘ऊनको स्वीटर’ हो । यसले ११ करोडमाथि व्यापार गरेको थियो । अब ‘मोहर’ यस वर्षको दोस्रो हिट फिल्म बनेको छ ।
यो फिल्म पब्लिसिटीसहित १ करोड ८६ लाखको बजेटमा बनेको हो । फिल्मले लगानी उठाउन मात्र कम्तिमा पनि चार करोड कमाउनै पर्ने हुन्थ्यो । अन्ततः प्रदर्शनको चौथो हप्तासम्म फिल्मले लगानी सुरक्षित गरेर निर्मातालाई केही प्रतिशत मुनाफा पनि दिइसकेको छ । वितरक करण श्रेष्ठका अनुसार, फिल्मले प्रदर्शनको चौथो हप्ताको शनिबारसम्म ५ करोड ४२ लाख कमाएको छ ।
चौथो शनिबार पनि फिल्मले उपलब्ध शोमा देशभर राम्रो अकुपेन्सी हासिल गरेको थियो । केही शो हाउसफुल समेत देखिए । यो फिल्मले ‘वर्ड अफ माउथ’को बलमा व्यावसायिक सफलता हासिल गरेको हो । फिल्मको कथा र कलाकारहरूको अभिनयलाई दर्शकले निकै रूचाएका छन् । फिल्मले अझै देशभर १५-२० शो पाएकाले प्रदर्शनको ५१ दिन मनाउने सम्भावना बलियो देखिन्छ ।

धेरैपछि आफ्नो मुख्य भूमिका रहेको फिल्म सफल भएपछि अभिनेता पल शाहले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरूको हातमा ताली, आँखामा चमक र हृदयमा स्पन्दन नहुँदो हो त ‘मोहर’ चौथो हप्तामा टिकिरहने थिएन । प्रत्यक्ष-अप्रत्यक्ष रूपमा ‘मोहर’लाई माया, साथ र सहयोग पुर्याउनु हुने तपाईं सम्पूर्णमा आभार व्यक्त गर्दछौँ ।’
‘मोहर’ व्यावसायिक रूपमा सफल हुँदा सबैभन्दा ठूलो राहत पल र अभिनेत्री नीति शाहलाई भएको छ । नीतिको करिअरको यो नै पहिलो हिट फिल्म हो । पलको पनि अघिल्ला दुई फिल्म ‘रावायण’ र ‘मायावी’ असफल भएका थिए । ‘मोहर’ पनि नचलिदिएको भए पल र नीतिको करिअर ठूलो संकटमा पर्न सक्थ्यो । यसअर्थ यो फिल्म उनीहरूका लागि ‘सञ्जिवनी बुटी’ नै सावित भएको छ ।

