Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘क्लासिक’पछि लभस्टोरी फिल्ममा फर्किए दिनेश, घोषणा गरे ‘कुमारी’

फिल्मीखबर, काठमाडौं, 2025/08/30

Nepali Film Kumari Annoucement Event (5)

 

लभस्टोरी फिल्म निर्देशनमा अब्बल मानिएका दिनेश राउत ८ वर्षपछि आफ्नै जनरामा फर्किएका छन् । यो बीचमा सामाजिक कथामा ‘प्रसाद’, ‘पुजार सार्की’ जस्ता फिल्म बनाएका उनले अब लभस्टोरी फिल्म ‘कुमारी’ बनाउन लागेका हुन् । शुक्रबार साँझ काठमाडौंको टुँडिखेलमा एक सांगीतिक कार्यक्रमका बीच पोस्टर सार्वजनिक गर्दै यस फिल्मको निर्माण घोषणा गरियो । 

उक्त कार्यक्रममा निर्देशक राउतले फिल्मका मुख्य जोडीलाई पनि दर्शकमाझ चिनाए । यसमा अबिसेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहनेछ । अबिसेकले यसअघि फिल्म ‘बेहुली फ्रम मेघौली’मा अभिनय गरेका थिए । आकृति भने चर्चित गीत ‘बार्दली’की मोडल हुन् । फिल्मको पोस्टरमा दुवैलाई प्रेमिल मुद्रामा देख्न सकिन्छ ।

फिल्मको घोषणा कार्यक्रममा गायक केहर सिंह लिम्बू र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले सांगीतिक प्रस्तुति दिएको थियो । गायक लिम्बूले यही फिल्मबाट पार्श्व गायनमा डेब्यु गर्दैछन् । कार्यक्रममा उनले फिल्मका लागि तयार पारेको गीत ‘कहाँ छौ’ प्रस्तुत गरेका थिए । उनले गाएको ‘लजालु आँखामा डुबेकी यसरी’ गीत दर्शकमाझ सर्वाधिक चर्चित छ । 

‘आइ एम सरी’बाट निर्देशकीय यात्रा सुरु गरेका निर्देशक राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथामा आधारित फिल्मका लागि चिनिन्छन् । दर्शकको चाहनाअनुसार आफू फेरि प्रेमकथामा फर्किएको उनले बताए । उनका अनुसार ‘कुमारी’ निर्माणको योजना ‘पुजार सार्की’भन्दा अगाडिको भए पनि विविध कारणले अहिले छायांकन गर्न लागिएको हो ।

 

Film KUMARI First Poster


यो फिल्मको निर्माणमा बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्य गरेको छ । यसका निर्माता महेन्द्र अधिकारी हुन् । उनले यसअघि ‘प्रकाश’ बनाएका थिए । विकास सुवेदीको कथा रहेको फिल्ममा अबिसेक र आकृतिबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने लगायतको पनि अभिनय रहनेछ । 

यसै हप्तादेखि काठमाडौंमा छायांकन सुरु हुने फिल्ममा सुसन प्रजापतिको छायांकन, सुप्रिम पराजुलीको रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापाको कोरियोग्राफी, केहर सिंह लिम्बू, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संगीत तथा सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेको गीत रचना रहनेछ ।