सन्तोष कुमार आत्रेयको निर्देशनमा बनेको फिल्म ‘शिवांश’ आगामी कात्तिक २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार फिल्मका निर्माताले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । पोस्टरमा कैलाश पर्वततर्फ जाँदै गरेका महादेव (शिव) र साँढेको प्रतीकात्मक तस्वीर देखिन्छ । यसले धार्मिक कथावस्तुमा फिल्म बनेको संकेत गर्छ ।
पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश’मा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाको मुख्य भूमिका रहेको छ भने विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौला लगायतले पनि अभिनय गरेका छन् ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको फिल्मको कथा निर्माता अञ्जान केसीले लेखेका हुन् । पटकथा बारत लिम्बूको छ । यसमा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । शम्भू थापा कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्माताहरू शोभा भण्डारी र अनिस केसी बोगटी हुन् ।
यतिबेला चलचित्र चौतारीमा पोस्ट प्रोडक्सनको काम भइरहेको यो फिल्ममा सरद महतो डीओपी, विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी तथा विराज खड्काको भीएफएक्स रहेको छ ।

