
अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’को टिजरले युट्युबमा धमाका मच्चाएको छ । रिलिजको चार दिनमा युट्युबमा मात्र १५ लाख बढी अर्गानिक भ्यूज प्राप्त गरिसकेको टिजरले विश्वभर आफ्नो प्रभाव पनि देखाएको छ । यतिबेला फिल्मको टिजर नेपालसहित एक दर्जन बढी देशमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा स्ट्रिमिङ भइरहेको छ ।
नेपालमा युट्युब ट्रेन्डिङको पहिलो स्थानमा रहेको टिजर अष्ट्रेलिया, जापान, माल्टा, कतार, यूएइ, साउदी अरब, कुबेत लगायतका देशमा पनि ट्रेन्डिङमा परेको छ । यसले विश्वभर फिल्मको पर्खाइ उच्च रहेको दर्शाउँछ । टिजरप्रति विश्वव्यापी आकर्षण देखिनुको मुख्य कारण उत्कृष्ट मेकिङ र अनमोलको क्रेजलाई मानिएको छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मको टिजरमा समावेश सगरमाथाका दृश्यहरू, ब्याकग्राउन्ड म्युजिक, सिनेमेटोग्राफी, भिएफएक्स लगायतको पाटोलाई दर्शकले उच्च प्रशंसा गरेका छन् । युट्युबमा टिजर हिट भएपछि अनमोलले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै दर्शकहरूको प्रेमले आफ्नो मन भरिएको उल्लेख गरेका छन् ।
सुयोग गुरुङको निर्देशन तथा सरोज न्यौपानेको प्रस्तुतिमा बनेको यो फिल्ममा अनमोलसहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी, उषा उप्रेती, सुरक्षा पन्त लगायतको अभिनय रहेको छ । आगामी असोज ३१ गते प्रदर्शन हुने फिल्ममा हेमराज बिसीको कथा, विश्वास तिम्सिनाको पटकथा, दुलिप रेग्मीको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

