Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरक्षाको ‘धागो’ कात्तिक २८ गते नेपाल र भारतमा प्रदर्शन हुने

फिल्मीखबर, काठमाडौं, 2025/08/29

Dhago Posters Portrait

 

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘धागो’ आउँदो कात्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ प्रदर्शन हुने भएको छ । शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको प्रदर्शन मितिबारे जानकारी गराएको हो । परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथामा फिल्म आधारित रहेको जनाइएको छ । 

फिल्मलाई उदिप राणा थापाले निर्देशन गरेका हुन् । डुवर्सको चिया बगानमा जन्मे-हुर्केका उनको यो पहिलो निर्देशकीय फिचर फिल्म हो । उनीसँग १८ वर्ष भारतका प्रोडक्सन हाउसहरूमा क्रिएटिभ हेड, निर्देशक र प्रोड्युसरको रूपमा काम गरेको अनुभव छ । उनी ‘धागो’लाई आफ्नो माटो र मान्छेको कथाको रुपमा अर्थ्याउँछन् । 

नेपाल–भारत सीमावर्ती क्षेत्रमा बस्ने नेपाली परिवारहरूको जीवन, भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई मुख्य कथावस्तु बनाइएको फिल्ममा सुरक्षासँगै प्रभात थापा, सुरभी थापा, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान लगायतको अभिनय रहेको छ । यसमा अभिनेत्री वर्षा राउत विशेष भूमिकामा छिन् ।

फिल्ममा अनिकेर एम. घोघको छायांकन, अखिलेश रायको सम्पादन, अमित त्रिवेदीको साउन्ड डिजाइन, पुष्पन प्रधानको संगीत तथा कविराज गहतराज र बसन दर्जीको कोरियोग्राफी रहेको छ । फिल्म म्याग्नेट इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको ‘धागो’का निर्माताहरू उमा थापा, उत्तम थापा र उदिप थापा हुन् भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री रहेका छन् ।