
पछिल्लो समय नेपाली निर्माताहरूले फिल्म चलाउन आफैंले टिकट किन्ने प्रवृति मौलाएको छ । त्यसका लागि अचेल बजेट समेत छुट्याउन थालिएको चर्चा छ । केही महिनाअघि कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले १०–१२ लाखको टिकट किनेको खुलासा गरेपछि त्यसले फिल्म क्षेत्रमा ठूलो तरङ्ग ल्याएको थियो ।
विनोदले लेखेका थिए, ‘इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाए पनि २०–२५ लाखको त टिकट किन्नैपर्छ । १०–१२ लाखको त हामीले पनि किनेकै हो । अब टिकट काट्नु पनि ‘मार्केटिङ प्लान’ हो ।’ उनको यो स्टाटसपछि फिल्मको टिकट किन्ने प्रवृति झनै बढेको देखिन्छ । १०–१२ लाख टिकटमा खन्याउँदा ‘सारङ्गी’ जति कमाइन्छ भन्ने लोभमा निर्माताहरूले अन्धाधुन्ध टिकट किनिरहेका छन् ।
यसैबीच, यही भदौ २७ गतेबाट ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता पौडेलको नयाँ फिल्म ‘अभिमन्यु: च्याप्टर वान’ प्रदर्शनमा आउने तयारीमा छ । यसको ९ दिनपछि अर्थात् असोज ६ गते (घटस्थापनाको दिन) फिल्मको हिन्दी डब भर्सन पनि प्रदर्शनमा आउँदैछ । ‘सारङ्गी’ चलाउन टिकट मात्र १०–१२ लाखको किनेका उनले ‘अभिमन्यु’मा चाहिँ टिकट किन्छन् कि किन्दैनन् भन्ने चासो धेरैमा छ ।
बिहीबार काठमाडौंमा आयोजित फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा यही प्रश्न उठेको थियो । उनलाई पत्रकारले सोधेका थिए, ‘यसपटक कति लाखको टिकट किन्दै हुनुहुन्छ त ?’ विनोदले यसको सीधा जवाफ दिए, ‘साढे १२ लाख नेपालीलाई र साढे १२ लाख हिन्दीलाई ।’ उनको यो जवाफले कार्यक्रम हल हाँसो र तालीले गुञ्जिएको थियो । उनले निर्माण गरेको ‘अभिमन्यू’ दोस्रो फिल्म हो ।

