Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जारी २’लाई असोज ३ छाडेर भाइटीका पुग्यो ‘सोल्टिनी’

फिल्मीखबर, काठमाडौं, 2025/08/29

soltinee movie

 

आगामी असोज ३ गते प्रदर्शन हुने भनिएको फिल्म ‘सोल्टिनी’ एक महिना पछाडि धकेलिएको छ । उक्त मितिमा ‘जारी २’ आउने भएपछि फिल्मको प्रदर्शन मिति सारिएको हो । अब यो फिल्म भाइटीकाको दिन पारेर आगामी कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ । शुक्रबार फिल्मको चारवटा पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी गराइएको हो ।

चार पोस्टरले फिल्मको कथावस्तु प्रेम, लिम्बू संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको जनाउँछन् । एक पोस्टरमा फिल्मका मुख्य जोडी प्रकाश सपूत र परीक्षा लिम्बूको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ । परीक्षा प्रकाशको पिठ्यूँमा चढेकी छन् । अर्को पोस्टरमा उनीहरु पानी छेक्न केराको पात आडेर हाँस्दै झोलुङ्गे पुल पार गरिरहेका देखिन्छन् । 

तेस्रो पोस्टरमा परीक्षा लिम्बू जातिको परम्परागत पहिरन र गहनामा सजिएकी छन् । उनको अनुहारमा पीडा भाव झल्किएको छ । पारिवारको दबाबमा उनी विवाह गर्न बाध्य भएको संकेत यो पोस्टरले गर्छ । अर्को पोस्टरमा परीक्षा र प्रकाशसहित फिल्मका अन्य पात्रहरूलाई पनि समेटिएको छ । यसले प्रेम र द्वन्द्वको संकेत गरेको छ ।

अर्जुन सुवेदीको निर्देशनमा बनेको फिल्ममा प्रकाश र परीक्षासहित विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतले अभिनय गरेका छन् । अर्जुन सुवेदी र कुमार भट्टराईको लेखन रहेको फिल्मलाई सुसन प्रजापतिले छायांकन गरेका हुन् । यसमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको ‘सोल्टिनी’का निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी सह-निर्मातामा छन् । यो फिल्मको कार्यकारी निर्मातामा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ । यस समूहको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गर्दै आएका छन् ।

यो फिल्मले दर्शकलाई फरक स्वादको कथासँग जोड्ने निर्देशक सुवेदीले दाबी गरेका छन् । उनका अनुसार फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउँदै दुई पात्रको प्रेमकथा प्रस्तुत गर्नेछ । फिल्मको छायांकन इलाम, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरमा गरिएको हो ।