कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको नयाँ फिल्म ‘अभिमन्यू’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजनापछि निर्माण कम्पनी सेभेन सिज सिनेमाकै युट्युब च्यानलबाट सार्वजनिक ३ मिनेटभन्दा लामो ट्रेलरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे केही संकेत गरेको छ ।
अभिनेता कामेश्वर चौरासिया हाबी देखिएको ट्रेलर प्रेम, अपहरण, फिरौती, बलात्कार, बदला, र अनुसन्धानको वरिपरि घुमेको छ । घरबारबिहीन एक युवकले पैसाका लागि केसम्म गर्न सक्छ र ऊ कसरी समस्यामा पर्छ भन्ने ट्रेलरमा देखाइएको छ । हास्य, सङ्घर्ष, र गम्भीर भावनाको मिश्रण रहेको ट्रेलरमा ब्याकग्राउन्ड स्कोर प्रभावशाली देखिन्छ । यसले दर्शकमा थ्रिल महसुस गराउँछ ।
भदौ २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकीय फिल्म हो । आगामी असोज ६ गते हिन्दी भाषामा विश्वव्यापी रिलिज हुने फिल्ममा कामेश्वरसहित सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतको अभिनय रहेको छ ।
मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् । ‘अभिमन्यु’को निर्माणमा विनोद पौडेललाई गुञ्जन गिरीले सघाएका छन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्ममा शरद महतोको डिओपी, मनोज श्रेष्ठको भिएफएक्स, सुप्रिम पराजुलीको रंग संयोजन तथा मदन घिमिरेको सम्पादन छ ।

