
गायक रामकृष्ण ढकालको निर्माणमा बन्न लागेको फिल्म ‘मालती मंगले’को शुभ मुहूर्त गर्दै औपचारिक रूपमा निर्माण यात्रा आरम्भ गरिएको छ । बिहीबार कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गरेपछि निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले क्ल्याप ठोकेका थिए । त्यसपछि अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले मुहूर्त सट दिए ।
फिल्ममा विजय र वर्षासहित मेक्सम गौडेल, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टराई लगायतको अभिनय रहनेछ । फिल्मको निर्देशन प्रकु पाण्डेयले गर्नेछन् ।
निर्देशक पाण्डेय स्वयंको कथा रहेको फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् । यही शनिबारदेखि तनहुँ र स्याङ्जामा छायांकन हुन लागेको फिल्मलाई रानी म्युजिक इन्टरनेशनलले निर्माण गर्नेछ भने युनी इन्टरटेनमेन्टले सहकार्य गरेको छ । फिल्मको सह–निर्मातामा रविन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाईँ र ईश्वर बजगाईँ रहेका छन् ।
‘मालती मंगले’मा महेश पौडेल छायाङ्कन निर्देशक, रोमी तण्डुकार सम्पादक, कृष्ण भण्डारी रङ संयोजक, राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र हर्क साउद गीतकार तथा हरि लम्साल, राजनराज सिवाकोटी, एसडी योगी र उज्ज्वल सागर संगीत संयोजकको रूपमा आबद्ध छन् ।
मुहूर्त कार्यक्रममा निर्माता ढकालले फिल्मले समाजसँग जोडिने भावनात्मक कथा पस्किने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार फिल्म पारिवारिक भावनासँग जोडिएको प्रेमकथामा आधारित रहनेछ । उनले निर्माण गर्न लागेको यो पहिलो फिल्म हो ।

