.jpg)
कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुङ्गा’को बक्स अफिस परीक्षा सुरू भएको छ । ऋषि पञ्चमीको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको यो फिल्मलाई निर्देशकका कारण पनि व्यावसायिक सफलता प्राप्त हुनैपर्ने दबाब छ । अन्यथा ‘सारङ्गी’कै सफलता निर्देशक पौडेललाई भारी पर्नेछ। यसैले यो फिल्मप्रति धेरैको चासो देखिन्छ ।
तर, ‘कोशेढुङ्गा’को अग्रिम टिकट बुकिङमा निर्देशक पौडेलको नामले कुनै काम गरेको देखिँदैन । सोमबारबाट फिल्मको देशभर अग्रिम टिकट बुकिङ खुलेको थियो । देशव्यापी एक सयभन्दा बढी शो पाएको यो फिल्मले बुकिङमा निराशाजनक नतिजा हात पारेको छ । बुधबार बेलुकासम्म फिल्मको देशभर एक सयवटा पनि टिकट बिक्री भएको थिएन । कति हलका शो पूरै खाली थिए ।
बिहीबार बिहानसम्म पनि फिल्मको देशभर टिकट बुकिङको अवस्था हरिबिजोग देखिन्छ । केही हलमा १५-२० प्रतिशत अकुपेन्सी भए पनि धेरैजसो शोमा १०-१२ वटा टिकट पनि बिक्री भएका छैनन् । यो अवस्थामा फिल्मलाई व्यापारिक गति समात्न बलियो ‘वर्ड अफ माउथ’ प्राप्त हुन जरूरी छ । अब यसमा फिल्म कति सफल हुन्छ, त्यसले नै ‘कोशेढुङ्गा’को व्यावसायिक भविष्य तय गर्नेछ ।
ग्रामीण परिवेशको कथामा बनेको फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, मन्जिल कुमार, प्रवीण खतिवडा, सरोज खनाल, हिउँवाला गौतम लगायतको अभिनय रहेको छ । यसमा निर्देशक पौडेल स्वयंको लेखन छ । उनलाई सुनिल निउरे र सुबलमणि सापकोटाले लेखनमा सघाएका छन् । बाबु श्रेष्ठको डीओपी रहेको फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका हुन् ।

