Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पारस’ : भुवनले छाडे, अब कृषाले बनाउँदै

फिल्मीखबर, काठमाडौं, 2025/08/27

bhuwan kc and krisha chaulagai

 

६ वर्षअघि घोषणा भएको फिल्म हो, ‘पारस’ । निर्माता माधव वाग्लेले आफैंले निर्देशन गर्ने गरी उक्त फिल्मको घोषणा गरेका थिए । मुख्य भूमिकामा अभिनेता अनमोल केसीलाई लिइएको थियो । तर, पछि ‘पारस’को सम्पूर्ण स्वामित्व अभिनेता भुवन केसीलाई दिएर निर्माता वाग्ले फिल्मबाट अलग भए । उनी बाहिरिएपछि भुवनले फिल्मको निर्देशकमा सिमोस सुनुवारलाई भित्र्याएका थिए ।

तर, निर्माता वाग्लेबाट ‘पारस’को सम्पूर्ण स्वामित्व लिएको ५ वर्ष बढी भइसक्दा पनि भुवनले फिल्म बनाउन सकेनन् । अब उक्त नाम उनीबाट उम्किएको छ । ‘पिताम्बर’ र ‘ऐंचो पैंचो’की निर्देशक कृषा चौलागाईँले ‘पारस’ शीर्षकमा फिल्म बनाउने भएकी छन् । चलचित्र विकास बोर्डमा उक्त नाम नविकरण नगरिएको पाइएपछि उनले साउन अन्तिममा फिल्म दर्ता गरेको जानकारी प्राप्त छ ।

बोर्डमा ‘पारस’ शीर्षक दर्ता गर्नुअघि कृषाले एकपटक भुवनसँग भने कुरा गरेकी थिइन् । भुवनले नै अनुमति दिएपछि उनले फिल्म दर्ता गरेको स्रोत बताउँछ । यसको मतलब भुवनले ‘पारस’ निर्माणको ‘च्याप्टर क्लोज’ गरेका छन् । कृषाले भुवनबाट स्क्रिप्ट भने लिएकी छैनन् । यतिबेला भारतमा स्क्रिप्ट लेखनको काम भइसकेको जनाइएको छ । कृषा पनि बुधबार भारत प्रस्थान गरेकी छन् ।

‘पिताम्बर’ रिलिज लगत्तै कृषाले आफ्नो निर्देशनमा बन्ने नयाँ फिल्म ‘जहाजैमा’को घोषणा गरेकी थिइन् । तर, अब यो फिल्मको निर्माण नै अन्योल बनेको छ । फिल्ममा अनुबन्धित भएका एकपछि अर्को कलाकारले हात झिकिरहेका छन् । यसैले कृषाले आफ्नै होम प्रोडक्सनबाट ‘पारस’ बनाउन लागेकी हुन् । उनले यो फिल्मलाई ‘पिताम्बर’भन्दा पनि ठूलो स्केलमा निर्माण गर्ने बुझिएको छ ।