.jpg)
‘दुई नम्बरी’का निर्माता किरण नेपालीले फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने फिल्मको नाम ‘महादशा’ राखिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच प्रि-टिजर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराइएको हो ।
अभिनेता प्रमोद अग्रहरीको ‘भ्वाइस ओभर’बाट सुरु भएको प्रि-टिजरमा तीन पात्र प्रस्तुत छन् । एक व्यक्ति झाँक्रीको पोशाकमा ढ्याङ्ग्रो बजाउँदै देखिएका छन् भने एक महिला र एक पुरुष एकअर्कासँग जुधिरहेका देखिन्छन् । यसले शक्ति संघर्षको कथामा फिल्म बन्न लागेको संकेत गर्छ ।
लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा प्रमोदसहित प्रेमा लामगाढे, हाकिम गुरुङ, रेअर राई लगायतको अभिनय रहनेछ । निर्देशक नेपालीका अनुसार अन्य कलाकारबारे केही दिनमा जानकारी गराइनेछ । फिल्ममा मनिष गौतमको लेखन रहेको छ ।
राज के. शाह, श्याम मगर र अमला देवी राई निर्माता तथा सुरज आचार्य कार्यकारी निर्माता रहेको फिल्मले संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह-नक्षत्र र कर्मको प्रभावलाई कथावस्तुमा समेट्ने निर्माण पक्षले जनाएको छ । फिल्मको छायांकन दशैंपछि सुरु हुनेछ ।

