
गत शुक्रबारबाट प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’ले तीज विदाको राम्रो सदुपयोग गरेका छन् । मंगलबार देशभर दुवै फिल्मको उत्साहप्रद व्यापार देखिएको छ । अझ आक्रामक ‘माग्ने राजा’ देखिन्छ । दिउँसो २ बजेपछि काठमाडौंसहित नेपालगञ्ज, दाङ, पोखरा, चितवन, धरान, बुटवललगायतका सहरमा फिल्मको अकुपेन्सी ८० प्रतिशत नाघेको छ ।
मंगलबार देशभरका हलमा ‘माग्ने राजा’को क्रेज हेर्दा फिल्मले प्रदर्शनयताकै सबैभन्दा ठूलो व्यापार गर्ने देखिन्छ । सम्भवतः यो फिल्मले मंगलबार १ करोडमाथि व्यापार गर्न सक्नेछन् । साँझ ६ बजेपछि हलमा दर्शकको चाप अझ बढ्ने अपेक्षा निर्माण टिमको छ । गत शनिबार पनि फिल्मले उत्साहजनक व्यापार गरेको थियो । आइतबार र सोमबार भने व्यापार अपेक्षा अनुरूप हुन सकेन ।
तीज विदामा फिल्मले देशभर उत्साहजनक व्यापार गरेपछि बिहानैदेखि कलाकार केदार घिमिरे (माग्ने बुढा) काठमाडौंमा विभिन्न हलमा पुगेर दर्शकसँग भेट गरिरहेका छन् । उनी दिउँसो चाबहिलस्थित एफक्यूब हलमा पुग्दा रातो साडी र कुर्थामा सजिएका महिलाहरूको उपस्थिति उल्लेख्य देखिएको थियो । त्यहाँ उनले तीजको शुभकामना दिँदै फिल्म हेरिदिएकोमा आभार व्यक्त गरे ।
‘माग्ने राजा’सँगै तीज विदामा ‘जनै हराएको मान्छे’को व्यापारमा पनि उल्लेख्य सुधार देखिएको छ । काठमाडौं, पोखरा, नेपालगञ्ज लगायतका सहरका हलमा फिल्म हेर्ने दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माण पक्षले जनाएको छ । हलमा परिवारसहित दर्शकहरू आइरहेको निर्देशक हिमाल न्यौपानेले जानकारी दिए । फिल्मलाई प्रतिक्रिया पनि उत्कृष्ट मिलिरहेको उनको भनाइ छ ।
ऋषि लामिछानेको निर्देशनमा बनेको ‘माग्ने राजा’मा केदारसहित वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल, सारदा गिरी लगायतको अभिनय रहेको छ भने ‘जनै हराएको मान्छे’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, शुशांक मैनाली लगायतले अभिनय गरेका छन् । फरक विधा र स्वादका यी दुवै फिल्मको विषयवस्तुलाई दर्शकहरूले रूचाएको देखिन्छ ।

