
यही भदौ २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु’को भोजपुरी फ्लेवरको ‘लड्की गोरी’ गीत यतिबेला चर्चामा छ । युट्युब रिलिजको ११ दिनमा ११ लाख बढी भ्यूज पाइसकेको गीतलाई प्रतिक्रिया पनि उत्साहजनक मिलेको छ । भोजपुरी शैलीका गीत छाडा हुन्छन् भन्ने भाष्यलाई यो गीतले चिर्न सफल भएको प्रतिक्रिया दर्शकहरूले दिएका छन् ।
गीत हेरेपछि तृष्णा घतानी नामका युट्युब प्रयोगकर्ता कमेन्टमा लेख्छन्, ‘म खासै भोजपुरी गीत सुन्दिनँ । तर, यो अलि ‘रिफ्रेसिङ’ रहेछ । मजा आयो । प्रेरणा सिंह र प्रशान्त सिवाकोटीको आवाज साह्रै मिठो । किरण श्रेष्ठको डान्स राम्रो ।’ त्यस्तै, अर्का युट्युब प्रयोगकर्ता जीवन मल्ल लेख्छन्, ‘यो डान्स र अडियो बबाल छ । ‘निड मोर एप्रिसिएसन’ । छाडा छैन, रमाइलो छ ।’
‘लड्की गोरी’ गीतमा लवज भोजपुरी भए पनि भाषा नेपाली नै प्रयोग गरिएको छ । भिडियो भने टिपिकल भोजपुरीमा छ । बजारमा आइरहेका भन्दा विल्कुलै फरक रहेकाले पनि गीतलाई दर्शकले मन पराएको देखिन्छ । कतिपयले यो गीतले गर्दा तराईबासी पनि फिल्ममा जोडिन सक्ने सम्भावना औंल्याएका छन् । दर्शकबाट प्राप्त यस्ता प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित बनाएको छ ।
उक्त गीतमा शब्द, संगीत र स्वर प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको रहेको छ । रोहन विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडियोमा जुना सुन्दास र किरण श्रेष्ठको आकर्षक नृत्य देख्न सकिन्छ । तराईको पात्र र कथामा आधारित भएर फिल्म बनेकाले त्यही क्षेत्रमा प्रचलनमा रहेको भोजपुरी शैलीको गीत तयार पारिएको निर्माण पक्षले जनाएको छ ।
सुशान्त गौतमको निर्देशनमा बनेको फिल्ममा किरणसहित लक्ष्मी बर्देवा, कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, शिशिर वाङ्देल, सुष्मा निरौला लगायतको अभिनय रहेको छ । मुकेश खनालको लेखन रहेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । ‘अभिमन्यु’मा शरह महतोको छायांकन, मनोज श्रेष्ठको भिएफएक्स तथा मदन घिमिरेको सम्पादन रहेको छ ।

