नेपाली फिल्म क्षेत्रमा ‘नेपोटिज्म’को बहस बेला बखतमा उग्र हुने गरेको छ । जब जब यो बहस सुरू हुन्छ, तब त्योसँगै जोडिएर एउटा नाम अनिवार्य रूपमा आउँछ, अनमोल केसीको । अभिनेता भुवन केसीको छोरा भएकै कारण उनले ‘नेपोटिज्म’को आरोप सहनुपरेको छ । यद्यपि, यो विषयमा उनी मौन रहँदै आएका छन् । भुवनले भने ‘नेपोटिज्म’बारे आफ्नो धारणा राखिरहेका हुन्छन् ।
सोमबार काठमाडौंमा आयोजना गरिएको फिल्म ‘जेरी अन टप’को टिजर सार्वजनिक कार्यक्रममा पनि उनले ‘नेपोटिज्म’को प्रसंग निकाले । अभिनेता विराज भट्टका छोरा समीर भट्टबारे पत्रकारले सोधेको प्रश्नपछि उनले उक्त प्रसंग निकालेका थिए । उनले समीरलाई आफूले छोरा जस्तै सोच्ने गरेको बताउँदै फिल्म क्षेत्रमा ‘नेपोटिज्म’को बहस समीरले बन्द गरिदिएकोमा खुसी व्यक्त गरे ।
भुवनले भने, ‘फिल्म क्षेत्रमा अरू पनि कलाकारका सन्तान छन् । तर, अनमोल इन्डस्ट्रीमा आउने वितिक्कै ‘नेपोटिज्म’को अरोप सहनुपर्यो । उसलाई ‘नेपोटिज्म’ भनियो । जब समीर आयो, तब उसले ‘नेपोटिज्म’को बहस नै हटाइदियो । त्यो कुराले म खुसी छु ।’ उनले ‘नेपोटिज्म’ भन्ने नै नहुने जिकिर गर्दै कलाकारका सन्तानहरू कलाकारितामा आउँदा प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे ।
भुवनले ‘जेरी अन टप’मा अनमोलकै पिताको भूमिकामा अभिनय गरेका छन् । उनी यो फिल्ममा आफूलाई अनमोलले हराइदिएको दाबी गर्छन् । उनी भन्छन्, ‘बाहिरको फिल्म गर्दा त्यहाँका कलाकारलाई जित्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । यो फिल्ममा चाहिँ मलाई अनमोलले हराइदियो ।’ भुवनको कुरामा आफ्नो धारणा राख्दै अनमोलले बुबाको योगदानको छेउछाउ पनि आफू नरहेको बताए ।

