
तिहारको छेको पारेर असोज ३१ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘जेरी अन टप’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजनापछि युट्युबमार्फत सार्वजनिक गरिएको झन्डै २ मिनेट लामो टिजरले फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको खुलासा गर्छ । तीन पात्रबीचको मित्रता, प्रेम, समर्पण, पीडा र जोशको कथा यसमा देखाइएको छ ।
टिजरको सुरुवात सगरमाथाको दृश्यबाट हुन्छ, जहाँ कलाकार शिशिर बाङ्देलको ‘भ्वाइस ओभर’ सुनिन्छ- ‘सगरमाथा चोमोलुङ यानिकी माउन्ट एभरेष्ट । हेर्दा जति सुन्दर, त्यति नै क्रूर । त्यहाँ एक गलत कदम, एन इट्स एभर रेस्ट ।’ यसैको पृष्ठभूमिमा सगरमाथा चढिरहेका फिल्मका पात्रहरुले भोग्नुपरेको कठिनाइ र दुःखलाई देखाइएको छ ।
सगरमाथाको दृश्यपछि टिजरमा फिल्मका तीन मुख्य पात्र अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । टिजरको अन्त्य फेरि सगरमाथाकै दृश्यबाट हुन्छ, जहाँ अनमोल र जसिता थकित भएर आरोही पोशाकमा हिउँको वर्षाबीच सुतिरहेका देखिन्छन् । टिजरमा फिल्मको मेकिङ र टिमको मिहिनेत प्रष्ट झल्किएको छ ।
‘फर्की फर्की’का निर्देशक सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्ममा अनमोल, आँचल र जसितासहित भुवन केसी, केदार घिमिरे (माग्ने बुढा), सुरक्षा पन्त, उषा खड्की लगायतको अभिनय छ । अनन्या फिल्म्सको ब्यानरमा सरोज न्यौपानेले फिल्मको निर्माण गरेका हुन् । उनले यसअघि ‘सम्बोधन’ र ‘ग्याङस्टर ब्लूज’ बनाएका थिए ।
‘जेरी अन टप’को निर्माणमा सरोजलाई रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले सघाएका छन् । फिल्मको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहेका छन् । यसमा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विस्वास तिम्सिनाको पटकथा, हेमराज बिसीको कथा तथा दुलिप रेग्मीको छायांकन रहेको छ ।

