
भारतको कन्नड इन्डस्ट्रीबाट एउटा दुखद खबर आएको छ । दिग्गज कन्नड अभिनेता तथा कला निर्देशक दिनेश मंगलुरुको निधन भएको छ । इन्डिया टाइम्सका अनुसार उनले सोमबार दिउँसो ३ः३० बजे उडुपी जिल्लाको कुन्दापुरास्थित आफ्नो निवासमा ५५ वर्षको उमेरमा अन्तिम सास लिएका हुन् । उनी एक वर्षदेखि अस्वस्थ थिए ।
दिनेशलाई फिल्म ‘कान्तारा’को छायांकनको क्रममा ब्रेन स्ट्रोक (मस्तिष्कघात) भएको थियो । बेङ्गलुरुमा उपचारपछि उनी निको भएका थिए । तर, पछिल्लो हप्ता ब्रेन हेमरेजका कारण उनलाई कर्नाटक राज्यमा पर्ने सुर्गेओन अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट पनि उनी निको भएर घर फर्किएका थिए । सोमबार ब्रेन स्ट्रोक नै उनको मृत्यको कारण बन्न पुग्यो ।
दिनेश विशेषगरी नकारात्मक भूमिकाका लागि परिचित थिए । उनले फिल्म ‘केजीएफ’मा निभाएको शेट्टी (बम्बे डन)को भूमिका यादगार मानिन्छ । ‘किच्चा, ‘किरिक पार्टी’, ‘राणा विक्रम’, ‘सवारी’, ‘आ डिंगी’, ‘दुर्गा’, ‘स्माइल’, ‘अतिथि’, ‘प्रेमा’ जस्ता फिल्ममा पनि उनको सशक्त अभिनय देख्न पाइन्छ । फिल्ममा आउनुअघि उनी थिएटरमा नाटक गर्दथे ।
फिल्ममा कला निर्देशकको रुपमा करिअर सुरु गरेका उनले ५० भन्दा बढी कन्नड फिल्ममा अभिनय गरिसकेका छन् । उनको अन्तिम फिल्म ‘कान्तारा’ आगामी अक्टोबर २ मा रिलिज हुँदैछ । उनको मंगलबार सुमनहल्ली श्मशान घाटमा अन्तिम संस्कार गरिने भारतीय मिडियाले जनाएका छन् । दिनेशको परिवारमा श्रीमती भारतीसहित दुई छोरा पवन र सज्जन रहेका छन् ।

