.jpg)
अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्देशकद्वय सजन काफ्ले र आकाश बरालले दोस्रो निर्देशकीय फिल्मको रुपमा ‘जिरो डिग्री’ बनाउने भएका छन् । सोमबार मिनिमल पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । यो फिल्मको मुख्य भूमिकामा अभिनेता विजय बराल रहनेछन् ।
ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको पोस्टरको केन्द्रमा डीप फ्रिजको चित्र छ, जसलाई केही मानिसहरूले काठको सहारामा खोला तारिरहेका छन् । पृष्ठभूमिमा हरिया पहाडी दृश्य देखिन्छ । यसले दुर्गम गाउँको कथामा फिल्म बन्ने संकेत गर्छ ।
निर्देशक काफ्लेका अनुसार फिल्मको कथा सडक नभएको गाउँमा आफ्ना मातापिताको निधन हुँदा विदेशमा रहेका छोराछोरी नआइपुगुन्जेलसम्म शव जोगाउन सहरबाट डीप फ्रिज बोकेरै गाउँमा भित्र्याएपछि सिर्जना हुने उथलपुथलमा केन्द्रित छ । फिल्ममा एउटा फ्रिज गाउँसम्म पुर्याउने प्रसङ्ग मात्र नभएर लाइट कमेडी कथा पनि रहेको उनको भनाइ छ ।
‘जिरो डिग्री’को कथा राजन भुसालले लेखेका हुन् भने पटकथा तथा संवाद निर्देशकद्वय सजन र आकाशले तयार पारेका छन् । फिल्मका कार्यकारी निर्माता मोती कार्की हुन् । तिहारपछि छायांकन सुरु गरेर अर्को वर्ष फिल्मलाई प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ । फिल्मका गीतहरूमा अङ्कित बाबु अधिकारीले सङ्गीत दिनेछन् भने युवराज काफ्लेले गीत रचना गर्नेछन् ।

