
‘कबड्डी’ जोडी दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको साढे तीन मिनेट लामो ट्रेलरले कथावस्तु र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ । गुरुङ समुदायको विवाह संस्कारलाई मुख्य विषयवस्तु बनाएर फिल्मले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
दयाहाङ र रिश्माका परिवारले उनीहरुको सानै उमेरमा विधि पुर्याएर बिहे छिनेका हुन्छन् । जब उनीहरु ठूला हुन्छन् र दुवै परिवारमा विवाहको तयारी सुरु हुन्छ, तब रिश्मा अर्कै युवक (अर्पण थापा)सँग भाग्छिन् । पछि रिश्मा पछुताएको दृश्यसँगै ट्रेलरले विट मारेको छ । समग्रमा परम्परा र इच्छाबीचको द्वन्द्व नै फिल्मको मूल कथा रहेको देखिन्छ ।
खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ, रिश्मा र अर्पणसहित गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बाल कलाकारहरु असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ । फिल्मको निर्माणमा गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्सले रोटेपिङ इन्टरटेनमेन्टसँग सहकार्य गरेको छ ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् । यसमा मित्र डि गुरुङको सम्पादन रहेको छ ।

