
चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘मालती मंगले’को यतिबेला काठमाडौंमा कार्यशाला चलिरहेको छ । भदौ दोस्रो साताबाट छायांकन सुरु हुन लागेको यो फिल्मको कार्यशाला कलाकार तथा नाट्य निर्देशक संयोग गुरागाईँको संयोजनमा सञ्चालन भइरहेको हो । उनी फिल्मका पटकथा तथा संवाद लेखक समेत हुन् ।
वर्कसपमा फिल्मका मुख्य अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतसहित सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुष्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती लगायतका कलाकारहरू सहभागी छन् । उनीहरुले वर्कसपमा स्क्रिप्ट पढ्दै आफूले निभाउने पात्रलाई नजिकबाट बुझ्ने प्रयास गरिरहेका छन् ।
अभिनेता बरालले ‘मालती मंगले’ले नेपाली समाजको यथार्थ कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पात्रलाई अझै नजिकबाट बुझ्न यो वर्कसपले ठूलो मद्दत पुर्याएको छ। दर्शकले आफ्नो कथा पर्दामा देखेझैँ अनुभूति गर्नेछन् ।’
त्यसैगरी, अभिनेत्री राउतले कार्यशालालाई आफूलाई पात्रमा ढाल्ने अवसरका रुपमा लिएको बताइन् । उनी भन्छिन्, ‘यो फिल्म पारिवारिक भावनासँग जोडिएको छ । वर्कसपमार्फत पात्रको गहिराइमा पुग्ने अवसर पाइरहेकी छु ।’ यो फिल्ममा उनको जोडी विजयसँग बाँधिनेछ । उनीहरुको यो पहिलो सहकार्य हो ।
पारिवारिक प्रेमकथामा आधारित रहने ‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । उनी स्वयंको कथा रहेको फिल्मको छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका विभिन्न भूभागमा हुने कार्यकारी निर्माता सागर ज्ञवालीले जानकारी दिए । रविन श्रेष्ठ र बाबु सुवेदी सह-निर्माता रहेको फिल्मलाई महेश पौडेलले छायांकन गर्नेछन् ।

