गत बैशाखपछि फिल्म क्षेत्रमा एकखालको निराशा छाएको थियो । किनकि, एकपछि अर्को आशातित फिल्मले अपेक्षित व्यापार गर्न सकेका थिएनन् । गत साउन २३ गतेबाट प्रदर्शन भएको फिल्म ‘मोहर’ले भने केही आशा जगायो । यसले प्रदर्शनको दुई साता सुखद व्यापार गरेको थियो । तेस्रो हप्ताको शनिबारसम्म चार करोड ग्रस कमाइ गर्दै यो फिल्म वर्षको ‘दोस्रो हिट’ बनिसकेको छ ।
‘मोहर’पछि फिल्मकर्मीहरुको आशा शुक्रबारबाट प्रदर्शनमा आएका तीन फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’प्रति थियो । तर, के यी फिल्मको प्रदर्शन अपेक्षा गरे अनुरुप नै रह्यो त ? दुई दिनको व्यापारिक अवस्था हेर्दा ‘माग्ने राजा’को प्रदर्शनलाई भने सन्तोषजनक मान्न सकिन्छ । यो फिल्मले शुक्रबार औसत व्यापार गरेको भए पनि शनिबार बक्सअफिसमा राम्रो अंक जोड्यो ।
शुक्रबार ‘माग्ने राजा’को देशव्यापी अकुपेन्सी समग्रमा ३५-४० प्रतिशत थियो । मध्यान्हबाट हलमा दर्शकको चाप बढ्दा फिल्मले उक्त अकुपेन्सी जोड्न सफल भएको थियो । नभए त बिहानी शोमा २० प्रतिशत पनि अकुपेन्सी थिएन । शनिबार भने फिल्मको अुकपेन्सीमा राम्रो वृद्धि देखियो । फिल्मलाई उपलब्ध शोहरुमध्ये ४० प्रतिशतभन्दा धेरैमा ७५-८० प्रतिशत अकुपेन्सी रहेको थियो ।
.jpg)
‘माग्ने राजा’का वितरक रोहित कट्टेलको दाबीलाई मान्ने हो भने ‘ऊनको स्वीटर’पछि दर्शक पाएको यही फिल्मले हो । उनका अनुसार फिल्मले दर्शक आइरहने पहिलो श्रेणीका हलमा मात्र नभइ चाडबाडमा मात्र हाउसफुल हुने हलमा समेत राम्रो व्यापार गरेको छ । फिल्मलाई दर्शकहरुबाट उत्साहजनक प्रतिक्रिया मिलेकाले आगामी दिनमा पनि व्यापार राम्रो रहने उनको विश्वास छ ।
यो फिल्मसँगै प्रदर्शनमा आएको ‘जनै हराएको मान्छे’ले भने अपेक्षा अनुरुप कमाइ गर्न सकेको देखिँदैन । पहिलो दिन फिल्मको देशव्यापी अकुपेन्सी २५ प्रतिशत र शनिबार ४५ प्रतिशत आसपास रहेको थियो । यद्यपि, यो फिल्मको ‘वर्ड अफ माउथ’ बलियो छ । दर्शकहरु फिल्म हेरेर रूँदै हलबाट निस्किएका छन् । यसैले आगामी दिनमा फिल्मको व्यापार बलियो रहने अपेक्षा गरिएको छ ।
शो बाँडफाँडमै ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे’को चेपुवामा परेको ‘ताराहरू’ले भने हलमा दम तोडिसकेको छ । शुक्रबार र शनिबार दुवै दिन फिल्मको देशव्यापी अकुपेन्सी १० प्रतिशत पनि पुग्न सकेन । शनिबार समेत दर्शकको उपस्थिति अत्यन्त नाजुक रहेपछि प्रायः मल्टीप्लेक्सले यो फिल्मलाई आइतबारबाट हटाइसकेका छन् । फिल्मलाई दर्शकीय प्रतिक्रिया भने राम्रो मिलेको छ ।
दुई दिन व्यापारमा जुन अगाडि र पछाडि भए पनि बक्स अफिसमा तीन फिल्मको वास्तविक परीक्षा आइतबारबाट सुरु भएको छ । किनकि, अब भनेको ‘वर्ड अफ माउथ पब्लिसिटी’को आधारमा मात्र फिल्म चल्ने हो । शुक्रबार र शनिबार हल पुगेका दर्शकले फिल्मबारे मौलिक वा सामाजिक सञ्जालमार्फत कस्तो प्रचार गर्छन्, त्यसमै यी तीन फिल्मको व्यावसायिक भविष्यमा अडिएको छ ।

