Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गोविन्दा र सुनिताको डिभोर्स हुन लागेको हो ?

फिल्मीखबर, काठमाडौं, 2025/08/23

govinda and sunita 2

 

भारतीय अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहूजाको सम्बन्ध धरापमा रहेको चर्चा चल्न थालेको महिनौं भइसकेको छ । हालै सुनिताले आफ्नो एक भ्लगमा पनि गोविन्दासँग सम्बन्ध राम्रो नरहेको संकेत गरेकी थिइन् । भारतीय मिडियाका अनुसार उनले गोविन्दाबाट अलग हुने निर्णय गरिसकेकी छन् । त्यसका लागि उनले अदालतमा डिभोर्सको मुद्धा समेत दर्ता गरिसकेको चर्चा छ ।

सुनिताले गोविन्दामाथि अफेयर, अत्याचार जस्ता आरोप लगाउँदै डिभोर्सको माग गरेको जनाइएको छ । हाउटरफ्लाई नामक न्यूज पोर्टलका अनुसार सुनिताले बान्द्रामा अवस्थित फेमिली कोर्टमा हिन्दू विवाह ऐन, १९५५ को धारा १३(१)(आई), (आईए), (आईबी) अन्तर्गत सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी हुन् । उनले गत डिसेम्बर २०२४ मा अदालतमा मुद्धा हालेको दाबी गरिएको छ ।

अदालतले गोविन्दालाई छलफलका लागि मे २५ मा बोलाएको थियो । तर, उनी उपस्थित भएनन् । सुनिता भने निरन्तर अदालतमा उपस्थित हुँदै आएकी छन् । गत जुनमा गोविन्दा र सुनिताले सम्बन्ध सुधारको प्रयास पनि गरेको बताइन्छ । तर, त्यो प्रयास सफल हुन सकेन । उनीहरूको सम्बन्ध बिग्रनुको मुख्य कारण गोविन्दाको जीवनमा एक मराठी अभिनेत्रीको प्रवेश हुनुलाई मानिएको छ ।

सुनिताले ८ दिनअघि आफ्नो युट्युब च्यानल सुरूवात गर्दै त्यसमा पहिलो भ्लगको रूपमा महालक्ष्मी मन्दिरको दर्शनको भिडियो हालेकी थिइन्, जहाँ उनी डिभोर्सको विषयमा कुरा गर्ने क्रममा रोएकी थिइन् । उनले भनेकी थिइन्, ‘परिस्थिति जस्तोसुकै भए पनि, परिवार तोड्न खोज्ने जोकोहीलाई पनि माताले छोड्नु हुने छैन ।’ गोविन्दा र सुनिताको ११ डिसेम्बर १९८७ मा विवाह भएको थियो ।

गोविन्दाकी श्रीमती सुनिताको नेपालसँग विशेष सम्बन्ध समेत छ । उनी पञ्जाबी परिवारमा जन्मिएकी भए पनि उनकी आमा सावित्री शर्मा नेपाली हुन् । यसैले सुनिता नेपाली भाषा राम्रोसँग बुझ्न र बोल्न सक्छिन् । ५ वर्षअघि पशुपतिनाथ मन्दिरको दर्शन गर्ने क्रममा उनले सञ्चारकर्मीसित नेपालीमै कुरा गरेकी थिइन् । सुनिताका कारण गोविन्दाले नेपाललाई आफ्नो ससुराली देश भन्ने गरेका छन् ।