Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जारी २’सँगको सहकार्यमा ‘काफ्ले’ गायिकाले ‘रैथाने घुमफिर’ कन्सर्ट गर्ने

फिल्मीखबर, काठमाडौं, 2025/08/21

jhuma limbu

 

फिल्म ‘ऊनको स्वीटर’को चर्चित गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूले पहिलो पटक आफ्नो ब्यान्डसहित सांगीतिक कन्सर्ट गर्ने भएकी छन् । उनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘रैथाने घुमफिर २०८२ नेपाल टूर’ आयोजना हुन लागेको जानकारी गराइन् । उनका अनुसार काठमाडौंसहित देशका १० सहरमा कन्सर्ट हुनेछ । 

आगामी भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट सुरु हुने सांगीतिक कन्सर्टमा गायिका लिम्बूले ‘काफ्ले’सहित आफ्ना लोकप्रिय गीतहरु गाउनेछिन् । हरेक कन्सर्टमा विभिन्न सहर र गाउँका स्थानीय लोकसंगीत, हाक्पारे, पालाम, घाँटु, सोरठी, देउडा, च्याब्रुङ, मारुनी लगायत संगीत र नृत्यलाई केन्द्रमा राखेर सांगीतिक प्रस्तुति हुने जनाइएको छ । 

कन्सर्टबारे झुमाले भनेकी छन्, ‘लोकसंगीत केवल मनोरञ्जनको माध्यम मात्र नभएर नेपालको मौलिक सांस्कृतिक जीवनशैली, इतिहास र सामुदायिक एकताको प्रतिविम्ब हो । हाम्रो संस्कृति र संगीतलाई नयाँ पुस्तामा पुर्‍याउने छौं  । ‘रैथाने घुमफिर’ गाउँ र सहरको संगीत र संस्कृतिलाई जोड्न एउटा पुलको रूपमा उभिनेछ ।’ 

झुमाको ‘रैथाने घुमफिर’ कन्सर्टमा आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी २’ले सहकार्य गरेको छ । यो फिल्म र झुमा लिम्बूको टुरबीचको सहकार्यले रैथाने संस्कृति, लोककला र मौलिक नृत्यको संरक्षण र प्रवर्द्धनमा विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ । एलओडीमा हुने कार्यक्रममा ‘जारी २’को टिमले च्याब्रुङ बजाएर नाच प्रस्तुत गर्ने जनाइएको छ ।

यो सांगीतिक कन्सर्ट यस वर्ष नेपालमा मात्रै आयोजना हुनेछ । अर्को वर्षदेखि यसलाई विदेशमा समेत लैजाने योजनामा गायिका लिम्बू छिन् । हरेक प्रस्तुतिमा स्थानीय कलाकार, वाद्यवादन र संस्कृतिको सम्मान गर्दै विविधता प्रदर्शन गरिने बताइएको छ । ‘रैथाने घुमफिर’का अन्य कार्यक्रम विस्तारै सार्वजनिक गरिने गायिका लिम्बूले बताइन् ।