Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आँसुमय बन्यो ‘जनै हराएको मान्छे’को प्रिमियर

फिल्मीखबर, काठमाडौं, 2025/08/21

janai harayeko manchhe

 

यही शुक्रबार (भदौ ६ गते)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को प्रिमियर आँसुमय बनेको छ । बुधबार साँझ काठमाडौंको नयाँ बानेश्वरस्थित ‘वान् सिनेमाज्’को दुईवटा अडिटोरियम ‘बुक’ गरेर आयोजना गरिएको प्रिमियरमा फिल्मका कलाकारदेखि आमन्त्रित अतिथिहरूसम्म क्लाइमेक्सको दृश्यले हलभित्रै भक्कानिएर रोएका थिए । 

प्रिमियरमा सबैभन्दा धेरै फिल्मकी मुख्य अभिनेत्री केकी अधिकारीको आँसु बग्यो । उनले आफूलाई सम्हाल्नै नसक्ने अवस्था देखिएपछि हलभित्र एक महिलाले अंकमाल गर्दै सान्त्वना दिएकी थिइन् । सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा पनि उनको गला अवरूद्ध भएको थियो । छेवैमा रहेकी गायिका अञ्जु पन्तले उनलाई हातले थपथपाउँदै हिम्मत दिइरहेकी थिइन् । 

टिस्युले आँसु पुस्दै सञ्चारकर्मीसँग केकीले भनिन्, ‘म आफ्नो फिल्म हेरेर कमै रोएको छु । किनकि, फिल्ममा हामीले के गरेका छौं भन्ने कुरा सबै थाहा हुन्छ । यो फिल्ममा चाहिँ थाहा छैन कसरी रुन पुगेँ । फिल्मको पात्रमा मैले आफ्नो बुबा र भाइलाई देखेर पनि हुनसक्छ । म छायांकन र डबिङको बेला पनि क्लाइमेक्सको पार्टमा रोएकी थिएँ ।’

गायिका पन्त पनि सञ्चारकर्मीसँग कुराकानीको क्रममा भक्कानिएकी थिइन् । उनले फिल्मको स्क्रिप्ट एकदमै राम्रो रहेको बताउँदै हरेक दृश्यमा आफू रोएको बताइन् । टिस्युले आँसु पुस्दै अञ्जुले भनिन्, ‘यो फिल्म सबैले हेर्नुपर्छ । यसले परिवारको महत्त्व बुझाउँछ । श्रीमान्-श्रीमतीबीच आदर र सम्मान हुनुपर्छ भन्ने पनि देखाइएको छ । फिल्म साह्रै राम्रो बनेको छ ।’

प्रिमियरमा कलाकारहरू सुनिल थापा, जितु नेपाल, कमलमणी नेपाल, लोकेन्द्र लेखक, किरण श्रेष्ठ, निर्देशक डा. कपिल रिजाल, छायाँकार गौरीशंकर धुंजु, कवि तथा गीतकार विप्लव प्रतीक, स्क्रिप्ट राइटर प्रदीप भारद्वाज लगायतको पनि उपस्थिति रहेको थियो । फिल्मले बुवा, आमा र दिदी-भाईबीचको सम्बन्ध, सम्झना र जिम्मेवारीको कथा भनेको छ ।

हिमाल न्यौपानेको निर्देशनमा बनेको फिल्ममा केकीसहित विजय बरालसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, सुमन थापा लगायतको अभिनय रहेको छ । पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । यसमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।