.jpg)
‘रोमान्टिक हिरो’को रुपमा परिचित जीवन लुईँटेल ७ वर्षपछि फिल्म अभिनयमा फर्किने भएका छन् । फिल्मसम्बन्धी अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘सकम्बरी’बाट उनको पुनरागमन तय भएको हो । बुधबार उनले फिल्म सम्झौता गरेका हुन् । उनीसँगै फिल्ममा अभिनेता अर्पण थापाको पनि प्रवेश भएको छ ।
फिल्ममा अनुबन्ध भएपछि जीवनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही वर्षको कमर्शियल ब्रेकपछि म फर्किएको छु । फिल्म ‘सकम्बरी’मा ‘सुयोगवीर’को रुपमा फर्किँदैछु । मैले धेरै पटकथाहरू खोजेँ, तर मेरो मनलाई पछ्याएँ र यो रोजेँ । अनुभवी अर्पण थापासँग स्क्रिन सेयर गर्न म उत्साहित छु ।’ फिल्ममा उनले ‘सुयोगवीर’को भूमिका निर्वाह गर्नेछन् ।
गत महिना कान्तिपुर थिएटरले मञ्चन गरेको नाटक ‘शिरीषको फूल’मा पनि जीवनले ‘सुयोगवीर’कै भूमिकामा अभिनय गरेका थिए । अब सोही पात्र उनले फिल्ममा निर्वाह गर्नेछन् । अर्पण भने ‘शिवराज’को भूमिकामा देखिने जनाइएको छ । ‘शिरीषको फूल’को ‘सकम्बरी’ पात्रबाट प्रभावित भएर फिल्म बन्न लागेको हो ।
दोस्रो विश्वयुद्ध कालखण्डको दृश्य उतार्नुपर्ने भएकाले फिल्मलाई म्यानमार (बर्मा) र नेपालमा छायांकन गर्ने तयारी गरिएको कान्तिपुर एकेडेमीका सीइओ प्रकाश पुरीले जानकारी दिए । तिहारपछि छायांकन सुरु हुने फिल्मका निर्देशक र मुख्य अभिनेत्री (सकम्बरी)बारे आगामी साता जानकारी गराइने उनले बताए । उनका अनुसार फिल्मको अनुमानित बजेट ३ करोड रहेको छ ।

