Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपलाई राजबल्लभको प्रश्न : ‘एक्टर नभएको भए के हुन्थ्यौ ?’

फिल्मीखबर, काठमाडौं, 2025/08/20

Pradeep Khadka And Raj Ballav

 

दुई पुस्ताका सुपरस्टार हुन्, राजबल्लभ कोइराला र प्रदीप खड्का । तर, पुस्ता अलग भए पनि उनीहरूले फिल्ममार्फत बनाएको छवि भने एउटै हो । दुवै ‘रोमान्टिक हिरो’को रूपमा दर्शकमाझ चिनिन्छन् । गत वर्ष संयोग के जुर्‍यो भने उनीहरू पहिलो पटक एउटै फिल्ममा देखिए । त्यो फिल्म थियो, ‘एक्टर: टेक वान’ । यसमा उनीहरू एकअर्काको दुश्मनको रूपमा प्रस्तुत भएका थिए ।

यो फिल्ममा काम गरेपछि एकअर्कासँग घुलमिल भएका राजबल्लभ र प्रदीप यसै साता अमेरिकामा भएको सोही फिल्मको विशेष शोमा उपस्थित भएका थिए । त्यही क्रममा राजबल्लभले युट्युबमा भ्लग शैलीको ‘कुरा र कथा’ कार्यक्रम सुरू गरेका छन्, जसको पहिलो एपिसोडमा उनी प्रदीपसित गाडीमा गफिएका छन् । उक्त भिडियोमा उनीहरूले पढाइदेखि अभिनयबारे कुरा गरेका छन् ।

एक प्रसंगमा राजबल्लभले प्रदीपलाई सोधेका छन्, ‘तिमी एक्टर नभएको भए के हुन्थ्यौ ?’ जवाफमा प्रदीप भन्छन्, ‘म कम्प्यूटर हाउसमा काम गरिरहेको हुन्थेँ होला । मेरो पढाइ पनि एमबीए मार्केटिङ हो । सजिलोका लागि मैले प्लस टूमा म्यानेजमेन्ट पढेको थिएँ । साइन्स पढ्दा ९-५ को जागिर खानुपर्छ भनेर त्यो पढिनँ । किनकि, म अल्छी छु । म धेरै मेहनत गर्ने खालको मान्छे होइन ।’

सोही कुराकानीमा राजबल्लभले आफू सानै हुँदा कलाकार बन्छु भनेर शिक्षकलाई भनेको स्मरण गरेका छन् । उनले भनेका छन्, ‘कक्षा ६ मा हुँदा टिचरले तिमी भविष्यमा के बन्छौ भनेर सोध्दा मैले ‘एक्टर बन्छु’ भनेको अझै पनि याद छ । सायद त्यही बेला नै म कलाकार बन्छु भनेर सोचिसकेको थिएँ ।’ राजबल्लभ र प्रदीपको २३ मिनेट लामो कुराकानीलाई दर्शकहरूले पनि रुचाएका छन् ।