
घोषणाको बेलादेखि नै नामका कारण चर्चामा रहेको फिल्म हो, ‘जनै हराएको मान्छे’ । पहिला फिल्मको नाममा ‘बाहुन’ शब्द थियो । छायांकन सकिएपछि त्यो शब्द हटाएर ‘मान्छे’ राखियो । हिन्दु धर्मसँग सम्बन्धित केही संस्थाले अनावश्यक दबाब दिन थालेपछि निर्माण पक्ष नाम परिवर्तन बाध्य भएको थियो । तर, नाममा ‘जनै’ शब्द रहेकाले यो धार्मिक फिल्म हुनसक्ने धेरैको अनुमान छ ।
तर, यसका निर्देशक हिमाल न्यौपानेले ‘जनै हराएको मान्छे’ धार्मिक फिल्म नभएको स्पष्ट पारेका छन् । उनी भन्छन्, ‘हाम्रो फिल्म धार्मिक होइन । सामाजिक कथा हो । सम्बन्धको कथा हो । फिल्मको विषयसँग जोडिएर जनै भन्ने शब्द आइपुगेको मात्रै हो ।’ अनावश्यक झमेलामा फस्न नचाहेर फिल्मको शीर्षकबाट ‘बाहुन’ शब्द हटाएको पनि उनले बताएका छन् ।
फिल्ममा अभिनेता द्वय विजय बराल र शुशांक मैनाली बाहुन पात्रको भूमिकामा छन् । उनीहरुमध्ये जनै कोसँग जोडिएर आउँछ, त्यो भने निर्माण पक्षले खुलाएको छैन । ट्रेलर हेर्दा फिल्मले जनैको महत्त्वलाई पनि बुझाउन खोजेको देखिन्छ । ट्रेलरमा जनै सम्बन्धी एउटा संवाद नै छ, ‘यो जनैलाई शरीरबाट अलग हुन दिनु हुँदैन । नत्र ठूलो खती हुन्छ ।’
यही शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्मको मंगलबारबाट अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । फिल्मलाई देशभरका हलले राम्रो शो उपलब्ध गराएका छन् । अब टिकट बुकिङ कस्तो रहन्छ, त्यसले फिल्मको ओपनिङ निर्धारण गर्नेछ । ‘जनै हराएको मान्छे’का प्रचार सामाग्रीप्रति देखिएको दर्शकको आकर्षण हेर्दा फिल्मले सुखद व्यापार गर्न सक्ने देखिन्छ ।
यो फिल्ममा विजय र सुशांकसहित भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर लगायतको अभिनय रहेको छ । पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । फिल्मले सेन्सर बोर्डबाट सबै दर्शकले हेर्न मिल्ने गरी ‘यूनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ ।

