Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आचार्य’को छायांकनका लागि भारत उडे निखिल र सञ्चिता

फिल्मीखबर, काठमाडौं, 2025/08/19

nikhil upreti

 

अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो स्वप्न प्रोजेक्ट ‘आचार्य’को छायांकनका लागि भारत प्रस्थान गरेका छन् । मंगलबार निखिलसहित फिल्मकी निर्मात्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिंजापती, छायाँकार मनु बिके र कलाकार तथा मुख्य सहायक निर्देशक सयनम अधिकारी काठमाडौंबाट पश्चिम बंगाल प्रस्थान गरेका हुन् । 

यही भदौ ६ गते शुक्रबारबाट ‘आचार्य’को छायांकन भारतको डुअर्समा सुरु हुनेछ । त्यसपछि बागडोगरा, सिलीगुडी र लखनऊको ठाकुरगञ्जमा फिल्मको छायांकन गरिने निखिलले बताए । दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्डमा छायांकन गर्न लागिएको फिल्मलाई नेपालमा पनि खिचिनेछ । ६० दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिने जनाइएको छ ।

फिल्ममा निखिल स्वयंको मुख्य भूमिका रहनेछ भने अन्य कलाकारमा पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी लगायत छन् । फिल्ममा बलिउड र दक्षिण भारतीय फिल्मका केही चर्चित कलाकारहरुको पनि अभिनय रहने चर्चा छ । स्रोतका अनुसार फिल्ममा बलिउड अभिनेता सुनिल सेट्टी देखिने लगभग पक्का छ ।

निखिलले ‘आचार्य’लाई विश्वस्तरीय एक्सन फिल्म बताएका छन् । उनका अनुसार फिल्ममा स्काइडाइभ र प्याराग्लाइडिङबाट स्टन्ट गरेको दृश्य पनि खिचिनेछ । उनी स्वयंको पटकथा लेखन रहेको यो फिल्मबाट अभिनेत्री सञ्चिताले कोरियोग्राफीमा डेब्यु गर्नेछिन् । नेपाली र हिन्दी भर्सनको एक गीतमा उनले कोरियोग्राफी गर्ने जनाइएको छ ।