कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुङ्गा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म रिलिज हुनुभन्दा ९ दिनअघि सार्वजनिक साढे ३ मिनेटभन्दा लामो ट्रेलरले सम्बन्धको कथामा फिल्म बनेको प्रष्ट पार्छ । अभिनेत्री सुरक्षा पन्तलाई केन्द्रमा राखिएको ट्रेलरमा उनको अभिनय सशक्त देखिन्छ ।
चुलबुले स्वभावकी सुरक्षाले आफूले मन पराएको युवकसँग विवाह गरेपछि उनको जीवनमा आएका उतारचढाव र निराशाजनक परिस्थितिलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको ट्रेलरमा आर्थिक अभाव, पारिवारिक कलह, दाम्पत्य जीवनका चुनौती, गाउँमै बसेर आत्मनिर्भर बन्न खोज्दा समाजले गर्ने व्यवहारलाई पनि देखाइएको छ । ट्रेलरमा भावनात्मक पक्ष बलियो देखिन्छ ।
भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा सुरक्षासहित आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल, हिउँवाला गौतम लगायतको अभिनय रहेको छ । यसमा निर्देशक पौडेल स्वयंको लेखन छ । उनलाई सुनिल निउरे र सुबलमणि सापकोटाले लेखनमा सघाएका छन् ।
नरदेवी फिल्म्स र सारंगी फिल्म्सले निर्माणमा सहकार्य गरेको फिल्मको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग रहेका छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा नहकुल खड्काको सम्पादन तथा आशिष अविरल र रिदम कँडेलको संगीत छ । यो फिल्म नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने जनाइएको छ ।

