चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले आफ्नो निर्देशनमा बन्न लागेको पहिलो फिल्म ‘गोबर गणेश’को छायांकन सुरु गरेका छन् । मंगलबार बिहान नयाँ बसपार्कको म्हेपी मन्दिरमा मुहूर्त पूजा गरेपछि सुरु भएको फिल्मको छायांकन काठमाडौं र पोखरामा ३५ दिनसम्म चल्ने उनले जानकारी दिए ।
‘आजबाट हामीले छायांकन सुरु गरेका छौँ । हाम्रो कला र शिपले भ्याए र जानेसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौँ,’ निर्देशक श्रेष्ठले भने, ‘हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो, त्यस्तै माया र साथ ठूलो पर्दाका दर्शकले पनि गरिदिनु हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ उनले दर्शक हँसाउनका लागि फिल्म बनाउन लागेको बताएका छन् ।
बल्छी धुर्बे फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा निर्देशक श्रेष्ठ स्वयंको मुख्य भूमिका रहनेछ भने अन्य कलाकारमा वर्षा सिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सेना (केदार घिमिरेकी श्रीमती), पुजन घिमिरे (पुकु) लगायत रहेका छन् ।
सामाजिक कमेडी कथावस्तुमा बन्न लागेको ‘गोबर गणेश’मा योगेश काजी शाहको ब्याकग्राउन्ड म्यूजिक, शिवराम श्रेष्ठको डीओपी र विपिन मल्लको सम्पादन रहनेछ । फिल्मलाई माघे संक्रान्तिको दिन पारेर माघ १ गतेबाट प्रदर्शन गरिने जनाइएको छ । ‘गोबर गणेश’को अर्थ एकदमै मूर्ख भन्ने हुन्छ ।

