Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साइग्रेस अब फिल्मको हिरो, ‘आ बाट आमा’मा अनुबन्धित

फिल्मीखबर, काठमाडौं, 2025/08/19

Saigrace Pokharel

 

आफ्नो अद्वितीय कथावाचन शैलीका कारण युवा पुस्तामाझ लोकप्रिय साइग्रेस पोखरेललाई अब फिल्ममा देख्न पाइने भएको छ । उनले फिल्म ‘आ बाट आमा’बाट अभिनय करिअर सुरु गर्न लागेका हुन् । उनलाई निर्माण पक्षले यसै साता फिल्ममा अनुबन्धित गरेको हो । उनको प्रवेशसँगै फिल्ममा मुख्य कलाकारको लाइनअप पूरा भएको छ ।

फिल्मको प्रमुख पात्रमध्ये एक सशक्त भूमिकामा साइग्रेसलाई अनुबन्धित गरेको निर्देशक चन्द्र पन्तले जानकारी दिए । स्पेनको बार्सिलोनामा बस्दै आएका साइग्रेस फिल्मको छायांकनका लागि यसै साता नेपाल आउने जनाइएको छ । फिल्मको छायांकन यही भदौ १२ गतेबाट सुरु हुँदैछ । 

निर्देशक पन्त स्वयंको लेखन रहेको फिल्ममा साइग्रेससहित विपना थापा, पल शाह, सिम्रन पन्त, उषा उप्रेती, दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत लगायतको अभिनय रहनेछ । फिल्ममा प्रदीप र विपना श्रीमान्-श्रीमतीको भूमिकामा देखिनेछन् भने उनीहरुको छोराको भूमिका पलले निभाउनेछन् । फिल्मले मातृत्वको संवेदनशील कथा प्रस्तुत गर्ने जनाइएको छ ।

कृष्ण प्रसाद सुवेदीले निर्माण गर्न लागेको फिल्ममा ध्रुव न्यौपाने र प्रकाश कुँवरको पनि लगानी रहनेछ । यसको कार्यकारी निर्माता करण सिंह हुन् भने सह-निर्मातामा छितिज ढुङ्गाना रहेका छन् । यस वर्षको फागुन १५ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्मको अष्ट्रेलिया र न्युजिल्याण्डका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।