.jpg)
नयाँ छिमलकी चर्चित अभिनेत्री स्वस्तिमा खड्काको फिल्म करिअरले एक दशक पूरा गरेको छ । २०७२ सालको भदौमा प्रदर्शन भएको फिल्म ‘होस्टेल रिटर्न्स’बाट अभिनय करिअर सुरु गरेकी उनले १० वर्षको अवधिमा आफूलाई अब्बल कोटीको अभिनेत्रीको रुपमा स्थापित गरिसकेकी छन् । पछिल्लो समय उनलाई ‘नम्बर वान अभिनेत्री’ समेत भन्न थालिएको छ ।
आर्ट र कमर्शिल दुवै धारका फिल्ममा रुचाइएकी उनले मंगलबार आफ्नो १० वर्षे फिल्म यात्रालाई फर्केर हेरेकी छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले सेतो पर्दाको १० वर्ष आफ्नो लागि १० दिनअघि जस्तै लागेको उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘समयको सुइँ खट्खट खट्खट् दौडिएर १० वर्षको किशोर भइसकेछ । म अहिले १० वर्षकी कलिली स्वस्तिमालाई हेरिरहेकी छु ।’
स्वस्तिमाले पहिलो पटक आफूलाई सेतो पर्दामा देख्दा लाज लागेको भए पनि उत्साह र गर्वानुभूति पनि उतिक्कै रहेको स्मरण गरेकी छन् । आफूले जीवनलाई प्रायः पछाडि फर्केर नहेर्ने गरेको बताउँदै उनले पर्दाको जीवनले १० वर्षको खुड्किलो उक्लिएको अवसरमा पछाडि फर्किएर हेर्दा आफूलाई आनन्द लागेको उल्लेख गरेकी छन् ।
उनी अगाडि लेख्छिन्, ‘यी १० वर्षमा सिकेका कुरा, भेटेका मान्छे र भोगेका क्षणले अब आउने मेरा दशौं वर्षलाई डोर्याउने छन् । केही नसिकी, केही नपढी म सिनेमामा आएकी थिएँ । काम र अग्रजहरूको मार्गदर्शनले मलाई सिनेमाको कखरा सिकायो । म अहिले सिनेमाको वर्णमाला सिक्दै छु । यो ज्ञानले मलाई अब आउने अनेकौं दशकमा परिपक्व बनाउँदै लैजानेछ । यो यात्रा सम्झेर म रोमाञ्चित भइरहन्छु ।’
स्वस्तिमाले आफ्नो करिअरको १० वर्षमा ‘बुलबुल’, ‘चिसो मान्छे’, ‘दिमाग खराब’, ‘पशुपति प्रसाद २’, ‘बेहुली फ्रम मेघौली’ जस्ता फिल्ममा गरेको अभिनय यादगार मानिन्छ । ‘बुलबुल’ त उनको करिअरकै टर्निङ प्वाइन्ट थियो । यसबाट राष्ट्रिय अवार्ड समेत जितेकी उनको यस वर्ष ‘हरिबहादुरको जुत्ता’ र ‘लालीबजार’ गरी दुई फिल्म प्रदर्शनमा आउँदैछन ।

