.jpg)
कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित फिल्मको वर्कसप आइतबारबाट सुरु भएको छ । लक्ष्मण सुनारको निर्देशनमा बन्ने फिल्मको वर्कसपमा कलाकारहरू सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपाने सहभागी छन् ।
निर्माता सुशील पोखरेलले फिल्मलाई उत्कृष्ट बनाउन सबै कलाकारलाई एकै ठाउँमा भेला पारेर वर्कसप थालिएको बताए । वर्कसपमा चरित्र निर्माण, स्क्रिप्ट, प्रोडक्सन डिजाइन, कस्ट्यूम लगायतका विभिन्न विषयमा गहन छलफल भइरहेको उनको भनाइ छ । उनका अनुसार दुई साता वर्कसपमा बसेर भदौ २६ गतेदेखि फिल्मको छायांकन सुरु गरिनेछ ।
‘परालको आगो’ श्रीमान्-श्रीमती चामे र गौँथलीबीचको झगडाको कथा हो । फिल्ममा सुहाना गौँथलीको भूमिकामा देखिनेछिन् । उनले पहिलो पटक घरबाहिरको फिल्ममा काम गर्न लागेकी हुन् । बुझिए अनुसार फिल्ममा प्रकाशले चामेको भूमिका निभाउनेछन् । म्याग्दी जिल्लामा छायांकन हुने फिल्मका लेखक सुशील देवकोटा हुन् ।
हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा संकल्प भुजेलको छायांकन, शान्ति ठटाल, सत्य-स्वरूप आचार्य र प्रकाश सपूतको संगीत तथा रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ । फिल्ममा चार दशकअघिको चर्चित गीत ‘उडि जाउँ भने म पन्छी होइन’लाई समावेश गरिँदैछ, जसका लागि निर्माण पक्षले उक्त गीतकी संगीतकार शान्ति ठटालबाट अनुमति लिइसकेको छ ।

