Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखासँग ‘३६ को आँकडा’ खेल्न नेपाल आइन् निरुता

फिल्मीखबर, काठमाडौं, 2025/08/18

niruta shing

 

अभिनेत्री निरुता सिंह करिब ६ वर्षपछि फिल्ममा फर्किएकी छन् । पछिल्लो पटक ‘दाल भारत तरकारी’मा देखिएकी उनले नयाँ फिल्म ‘३६ को आँकडा’मार्फत अभिनयमा पुनरागमन गरेकी हुन् । फिल्मको छायांकनका लागि आइतबार साँझ भारतको मुम्बईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन विमानस्थलमा निर्देशक सविर श्रेष्ठले स्वागत गरेका थिए । 

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निरुताले अब निरन्तर फिल्ममा काम गर्ने बताइन् । उनले भनिन्, ‘म नेपाली फिल्मबाट टाढा बस्नै सक्दिनँ । म नेपाल गएर फिल्म खेल्छु भन्नेमै थिएँ । केही फिल्मबाट अफर पनि आएको थिए । तर, विभिन्न कारणले काम गर्न सकिनँ । ‘३६ को आँकडा’मा चाहिँ साइत जुर्‍यो । अब निरन्तर फिल्ममा काम गर्छु ।’ 

यो फिल्ममा निरुताको भूमिकाबारे निर्माण पक्षले जानकारी गराएको छैन । निर्देशक सविरले पनि निरुताको भूमिका अहिले नै खुलाउन नमिल्ने बताए । निरुतालाई फिल्ममा लिनुको कारणबारे उनले भने, ‘कुनै कुनै भूमिकामा विशेष कोही कलाकारको आवश्यकता पर्ने रहेछ । यो फिल्ममा निरुता दिदी नै चाहिने भूमिका छ । यसैले हामीले उहाँलाई लिएका हौं ।’

‘३६ को आँकडा’मा निरुतासहित रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतको अभिनय रहनेछ । निरुताले रेखासँग झन्डै २ दशकपछि फिल्ममा एकसाथ काम गर्न लागेकी हुन् । दुश्मनजस्तै रहेका दिदी-बहिनीको सम्बन्धको कथामा बन्ने फिल्ममा बाबुराम निरौला र शिवम् अधिकारीको लेखन रहेको छ । सोमबारबाट फिल्मको छायांकन सुरु गरिएको छ ।