Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत ३’पछि गुमनाम क्रिस्टिना बुटिक व्यवसायमा

फिल्मीखबर, काठमाडौं, 2025/08/17

Kristina Gurung

 

भनिन्छ, फिल्म सफल भएपछि त्यसमा अभिनय गर्ने कलाकारको करिअर चम्किन्छ । तर, अभिनेत्री क्रिस्टिना गुरुङको हकमा भने फरक रह्यो । उनको डेब्यु नै हिट फिल्म ‘प्रेमगीत ३’बाट भएको थियो । यसमा उनको अभिनयको आलोचना भए पनि फिल्मको सफलताले गर्दा उनलाई मेकरहरूले खोज्न थालेका थिए । तर, जसै फिल्म हलमा रिलिज भयो, उनी एकाएक गुमनामजस्तै भइन् ।

‘प्रेमगीत ३’पछि प्रस्ताव आएका थुप्रै फिल्म अस्वीकार गरेकी उनले अब व्यवसायमा हातमा हालेकी छन् । उनले ‘अमोरा नेपाल’ नामक बुटिक व्यवसाय सुरु गरेकी हुन् । महाराजगञ्जस्थित नारायणगोपाल चोकमा कृष्ण जन्माष्टमीको दिन पारेर शनिबारबाट सञ्चालनमा आएको उक्त कपडा पसलमा महिलाका लागि विभिन्न डिजाइन र रंगका आकर्षक कुर्थादेखि साडीसम्म उपलब्ध छन् ।

क्रिस्टिनाले सामाजिक सञ्जालमार्फत आफूले सुरु गरेको व्यवसायलाई अर्थपूर्ण कुराको सुरुवात भनेकी छन् । उनले लेखेकी छन्, ‘कृष्ण जन्माष्टमी मेरो जीवनमा सधैं विशेष रहँदै आएको छ । र, यस वर्ष यो अझ अर्थपूर्ण कुराको सुरुवात हो । कृष्ण जन्माष्टमीको शुभदिन पारेर यो नयाँ यात्रा सुरु भयो । सबैलाई स्वागत छ ।’ उनको उक्त पोस्टमा प्रशंसकहरूबाट बधाईको ओइरो लागेको छ ।

क्रिस्टिना ‘प्रेमगीत ३’मा अडिसनबाट छनोट भएकी थिइन् । अञ्जली अधिकारी जस्ता स्थापित मोडल समेत अडिसनमा सहभागी थिए । तर, बाजी क्रिस्टिनाले मारिन् । फिल्म रिलिज हुँदासम्म राम्रै चर्चामा रहेकी उनले २ वर्षयता ‘लाइमलाइट’बाट परको जीवन बाँचिरहेकी छन् । अब व्यवसाय सुरु गरेकी उनी फिल्ममा फर्किन्छिन् वा फर्किन्नन्, त्यो दर्शकका लागि चासोको विषय बनेको छ ।