Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कहाँ गयौ तिमी’बाट फिल्म निर्देशनमा डेब्यु गर्दै फिरोज

फिल्मीखबर, काठमाडौं, 2025/08/16

Firoj-Timalsina

 

तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’बाट अभिनय करिअर सुरु गरेका अभिनेता फिरोज तिमल्सेना अब निर्देशक बन्ने भएका छन् । उनले फिल्म ‘कहाँ गयौ तिमी’बाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । 

पोस्टरमा बादलले ढाकेको पहाडी भूगोल र एकलासमा रहेको एउटा झुप्रो घर देखिन्छ । यसले ग्रामीण परिवेशको कथामा फिल्म बन्न लागेको बुझाउँछ । टाइटलमा रहेको कालो र रातो रंगले भने शंकाबीचको प्रेम, आशा, विछोड र मिलनको कथा फिल्मले भन्ने संकेत गर्छ । यद्यपि, निर्माण पक्षले कथावस्तुबारे जानकारी गराएको छैन ।

सहारा फिल्मको ब्यानरमा बन्ने फिल्ममा जीवन आचार्यको लेखन छ भने प्रकाश नेपालीको संगीत रहनेछ । निर्माण पक्षले फिल्ममा अभिनय गर्ने कलाकारको नाम भने खुलाएको छैन । यद्यपि, फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार यो फिल्ममा अभिनेता पुष्प खड्काको अभिनय रहने निश्चित भइसकेको छ । पुष्प र फिरोज संघर्षकालदेखिका साथी समेत हुन् ।

‘कहाँ गयौ तिमी’को घोषणा गर्दै फिरोजले फिल्म निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुशी र जिम्मेवारी दुवै महसुस भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । टेलिभिजन होस्ट हुँदै रियालिटी शो ‘नेपाल आइडल’को पहिलो सिजनमा निर्माता तथा एपिसोड डिरेक्टरको रुपमा समेत काम गरेका उनी गायक पनि हुन् । केही वर्षयता उनी अमेरिकामा बस्दै आएका छन् ।