
‘पाँडे’को रुपमा दर्शकमाझ चिनिएका कलाकार अर्जुन घिमिरेको पहिलो निर्देशकीय फिल्म ‘झरी पछिको इन्द्रेणी’को छायांकन पूरा नहुँदै विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । यतिबेला काठमाडौं आसपासमा छायांकन भइरहेको फिल्मको शुक्रबार निर्माण पक्षले अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री गरेको छ । राम कार्कीले फिल्मको राइट्स खरिद गरेका हुन् ।
अष्ट्रेलियामा सफल उद्यमीको रुपमा स्थापित कार्की शिक्षा र माइग्रेशन सेवामा सक्रिय छन् । उनले अष्ट्रेलियामा मोर्टगेज ब्रोकर फर्म, एकाउन्टिङ फर्म तथा विभिन्न हस्पिटालिटी व्यवसायहरू समेत सञ्चालन गर्दै आएका छन् । अब फिल्म वितरणमा होमिएका उनले ‘झरी पछिको इन्द्रेणी’को टिमप्रति विश्वास भएर छायांकन नसकिँदै प्रदर्शन अधिकार खरिद गरेको बताएका छन् ।
कार्कीका अनुसार नेपालमा प्रदर्शन हुने मितिमै फिल्मलाई अष्ट्रेलियाका प्रमुख सहरहरूमा रिलिज गरिनेछ । ‘यो फिल्म अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि मनोरञ्जनात्मक र सन्देशमूलक बन्नेछ भन्ने विश्वास छ,’ उनले भने ।
बाबु-छोराको कथामा आधारित यो फिल्ममा निर्देशक घिमिरेसहित गणेश उप्रेती, दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा, प्रियाना आचार्य (मुन्नी) लगायतको अभिनय रहेको छ । गणेशले यही फिल्मबाट ९ वर्षपछि पुनरागमन गरेका हुन् । फिल्मको एक गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप रहने जनाइएको छ ।

