Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समीरलाई ‘एक्सन किङ’को ट्याग दिँदै ‘बलिदान’को टिजर रिलिज

फिल्मीखबर, काठमाडौं, 2025/08/16

sameer bhatta

 

यसपालिको दशैंको फूलपाती अर्थात् १३ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’को टिजर सार्वजनिक गरिएको छ । शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर सार्वजनिक झन्डै २ मिनेट लामो टिजरले क्रोध, बदला, न्याय र देशभक्ति भावनाको कथा बताउँछ । अन्यायविरुद्ध लड्ने साहसिक पात्र (समीर भट्ट)को वरिपरि टिजर केन्द्रित छ । 

सन्तोष सेनको निर्देशनमा बनेको फिल्मको टिजरको सुरुवातमा अभिनेता विराज भट्टको ‘भ्वाइस ओभर’मा देशको एक हिस्सा बैरीहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको उद्घोष सुनिन्छ । यसैको पृष्ठभूमिमा सौगात मल्ल मसाल बोकेर दृढ अडानका साथ उभिएका देखिन्छन् । अर्पण थापा भने राजनीतिज्ञको भूमिकामा रहेको टिजरले प्रष्ट पार्छ । 

टिजरमा हेमन्त बुढाथोकीको पनि ‘भ्वाइस ओभर’ सुनिन्छ, जहाँ उनले कालीमाताको चरणमा रगत चढाउँदै धेरै समय विताएकाले अब बलिदानको अभिनय पूरा भएको उद्घोष गर्दै आफू जन्मिएकै राजा बन्नलाई रहेको बताएका छन् । राजसी पहिरनमा देखिएका हेमन्तको संवादले उनी सत्ताका लागि भोको रहेको बुझाउँछ । 

अभिनेत्री ऋचा शर्माको संवाद भने टिजरको भावनात्मक केन्द्रबिन्दु बनेको छ । एक दृश्यमा उनले कालीमाताको मूर्ति अगाडि उभिएर भावुक मुद्रामा भनेकी छन्, ‘के यो धर्तीमा अब त्यस्तो युग पुरुषको जन्म हुन्न, जसले ती राक्षसहरूको घाँटी रेटोस् ?’ उनको यो संवादसँगै समीर भट्टको प्रवेश हुन्छ । त्यसपछि उनका सशक्त एक्सन दृश्यहरू समेटिएको छ । टिजरमा उनलाई ‘एक्सन किङ’को ट्याग समेत दिइएको छ ।

निर्देशक सेनलाई पनि टिजरमा देख्न सकिन्छ । उनी आदिवासी पात्रको भूमिकामा छन् । फिल्मका अर्का कलाकार प्रेम पुरी प्रहरीको भूमिकामा देखिएका छन् । कोरियोग्राफरको रुपमा परिचित सुनिल क्षेत्रीलाई पनि आदिवासी पात्रको रुपमा टिजरमा प्रस्तुत गरिएको छ । टिजरका दृश्यहरुले दर्शकमा फिल्मप्रति अपेक्षा र उत्साह बढाउन सक्ने देखिन्छ ।

टिजर सार्वजनिक गर्दै निर्देशक सेनले ‘बलिदान’ केवल फिल्म नभइ हरेक नेपालीको मनको विद्रोहको प्रतीक रहेको बताए । उनले भने, ‘तीन वर्षको रगत पसिना, माटोको सुगन्ध र किनारिएका आवाजको पीडाबाट जन्मिएको ‘बलिदान’ अब केवल फिल्म होइन, यो न्यायको विस्फोट हो ।’

आसुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । फिल्ममा दर्शन जीको लेखन, महेश पौडेलको छायांकन, सुजन चापागाईँको संगीत निर्देशन तथा स्टन्डर साम र श्री श्रेष्ठको द्वन्द्व निर्देशन सम्पादन रहेको छ । ‘बलिदान’को दर्शकमाझ उच्च हाइप बनेकाले फिल्मले बक्स अफिसमा विस्फोटक व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।