Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘१२ गाउँ २’ अर्को दशैंमा आउने, विराज र समीर दोहोरिने

फिल्मीखबर, काठमाडौं, 2025/08/15

biraj bhatta

 

कहिले छविराज ओझा त कहिले दीपकराज गिरी समूहको पेवाजस्तै बनेको दशैं विदा अब अभिनेता विराज भट्टले पनि नछाड्ने भएका छन् । गत दशैंमा आफू निर्देशित तथा अभिनीत फिल्म ‘१२ गाउँ’ले बक्स अफिसमा ठूलो सफलता पाएपछि हौसिएका उनले अर्को वर्षको दशैंमा पनि फिल्म ल्याउने घोषणा गरेका छन् । उनका अनुसार अर्को दशैंमा ‘१२ गाउँ २’ प्रदर्शनमा आउनेछ ।

बिहीबार आफ्नो मुख्य भूमिका रहने नयाँ फिल्म ‘राम नाम सत्य’को शुभमुहूर्त कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै विराजले भने, ‘अहिले ‘१२ गाउँ २’को कथामा काम भइरहेको छ । त्यो अर्को दशैंमा आउँछ ।’ उनले यसमा पनि बाउ-छोरा सँगै देखिने बताए । अर्थात् फिल्ममा विराजसँगै उनका छोरा समीर भट्टको पनि अभिनय रहनेछ । यो फिल्मलाई विराजले नै निर्देशन गर्नेछन् ।

खासमा उनले यही दशैंको फूलपातीमा ‘१२ गाउँ २’ ल्याउने सोच बनाएका थिए । त्यसका लागि उनले गत पुषमै चलचित्र विकास बोर्डबाट निर्माण इजाजत समेत लिएका थिए । तर, समीरको दोस्रो फिल्म ‘बलिदान’को छायांकन लम्बिँदा रिलिज दशैंमा पुग्यो । यसैले विराजले तत्काललाई ‘१२ गाउँ’को सिक्वेल रोकेर यस वर्ष बाहिरी ब्यानरको फिल्म ‘राम नाम सत्य’मा काम गर्न लागेका हुन् ।

विराजले ‘१२ गाउँ २’बाट आफ्नो कान्छो छोरालाई फिल्ममा डेब्यु गर्न लागेको चर्चा पनि चलिरहेको छ । तर, उनले यसमा सत्यता नभएको बताएका छन् । उनले भने, ‘अहिलेसम्म उसलाई ल्याउने कुनै सोच छैन । ऊ अलि सानै छ । फिल्ममा आउने बेला भइसकेको छैन । बाउ र दाई यही क्षेत्रमा भएकाले उसलाई फिल्ममा रुचि चाहिँ छ । बाँकी कुरा समय आएपछि थाहा भइहाल्छ ।’