Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माग्ने राजा’मा केदारको पारिश्रमिक ५१ लाख

फिल्मीखबर, काठमाडौं, 2025/08/15

kedar ghimire

 

आगामी भदौ ६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘माग्ने राजा’ यतिबेला कुनै कारणले चर्चामा छ भने त्यो अभिनेता केदार घिमिरे (माग्ने बुढा)को पारिश्रमिकले नै हो । एक महिनाअघि फिल्मको पोस्टर रिलिज कार्यक्रममा निर्माता मुनाल घिमिरेले केदारलाई ५१ लाख नगद र अब १० लाख दिन बाँकी रहेको बताएका थिए । अर्थात्, केदारलाई ६१ लाखमा फिल्म खेलाएको उनको दाबी थियो ।

तर, ६१ लाखको कुराले फिल्मलाई फाइदाभन्दा ‘ब्याकफायर’ बढी गर्‍यो । पारिश्रमिकको विषयलाई लिएर फिल्मका गीतदेखि टिजरसम्म गाली वर्षियो । मिडियामा पनि पारिश्रमिककै बढी चर्चा थियो । फिल्मकर्मीहरुले पनि टिका-टिप्पणी गरे । पारिश्रमिकको विवादले फिल्मलाई असर गर्न थालेपछि अन्ततः केदारले ६१ लाखको कुरा निर्माताले गरेको प्रचार फण्डा मात्र रहेको खुलासा गरे ।

तर, पोस्टर सार्वजनिक कार्यक्रममा निर्माता घिमिरेले गरेको ५१ लाखको दाबी भने सत्य भएको पाइएको छ । उनले केदारलाई ५१ लाख पारिश्रमिक दिएबापत राज्यलाई १५ प्रतिशत टीडीएस तिरेका छन् । उनले बिहीबार चाबहिलस्थित आन्तरिक राजश्व कार्यालय पुगेर ७ लाख ६५ हजार रुपैयाँ आयकर तिरेका हुन् । यसको प्रमाण चर्चित टेलिभिजन कार्यक्रम रजतपटले सार्वजनिक गरेको छ ।

 

kedar ghimire


मुनालले ६१ लाखमा केदारलाई १० लाख भने दिन बाँकी रहेको बताएका थिए । त्यो १० लाख चाहिँ फण्डा मात्र थियो वा दिन बाँकी नै छ, त्यो भने खुलेको छैन । यद्यपि, ५१ लाख पारिश्रमिकबापतको कर तिरेको हिसाबले केदार नेपाली फिल्मका सर्वाधिक महंगा अभिनेता बनेका छन् । यसअघि ‘फर्की फर्की’मा ५० लाख पारिश्रमिकबापतको कर बुझाएर अनमोल सबैभन्दा महंगा बनेका थिए ।