.jpg)
जब-जब ठूला बजेटका भारतीय वा हलिउड फिल्म प्रदर्शनमा आउँछन्, तब नेपाली फिल्मले हलमा पर्याप्य शो नै पाउँदैनन् । बक्स अफिसमा नेपाली फिल्म सुखद रूपमा चल्दा पनि शो कटौती गरेर विदेशी फिल्मलाई दिइन्छ । जसले गर्दा नेपाली फिल्म सीमित शो लिएर हलमा ठूला विदेशी फिल्महरूसँग प्रतिस्पर्धा गर्न बाध्य हुन्छन् । यतिबेला ‘मोहर’ र ‘सिटामोल’को अवस्था पनि यस्तै छ ।
गत शुक्रबारबाट प्रदर्शनमा आएका यी दुई फिल्ममध्ये ‘मोहर’ बक्स अफिसमा बलियो देखिएको छ । शनिबार उत्साहप्रद व्यापार गरेको यो फिल्मले आइतबारयता पनि हलमा दर्शक राम्रो पाइरहेको छ । बुधबारसम्म २ करोडमाथि व्यापार गरिसकेको फिल्मले बिहीबार पनि देशव्यापी ५० प्रतिशत अकुपेन्सी हासिल गरेको छ । विशेषगरी काठमाडौंबाहिर यो फिल्मको कमाइ राम्रो देखिन्छ ।
तर, बिहीबारबाट ‘मोहर’ र ‘सिटामोल’ दुवै शोमा निकै खुम्चिएका छन् । त्यसको कारण हो, दुई ठूला भारतीय फिल्म ‘वार २’ र ‘कुली’ रिलिज हुनु । हाइप, स्टारकास्ट लगायतका पक्षलाई मध्यनजर गर्दै यी दुई फिल्मलाई नेपालका अधिकांश मल्टीप्लेक्सले बिहीबारका लागि ठूलो संख्यामा शो दिएका छन्, जुन दुई नेपाली फिल्मको शो भारी मात्रामा कटौती गरेर उपलब्ध गराइएको हो ।
‘वार २’ र ‘कुली’लाई शो उपलब्ध गराउन आइएनआइ सिनेमाज्, वान् सिनेमाज्, रञ्जना सिनेप्लेक्स, विएसआर मुभिज, एफक्युब जस्ता ठूला मल्टीप्लेक्सहरूले बिहीबारबाट ‘सिटामोल’लाई उतारिसकेका छन् । ‘मोहर’ भने कुनै हलबाट उत्रिएको छैन । यसको कारण फिल्मले गरिरहेको सुखद व्यापार नै हो । तर, व्यापार राम्रो हुँदाहुँदै पनि प्रायः हलले फिल्मको शो उल्लेख्य घटाएका छन् ।
हलमा दुई भारतीय फिल्मको चेपुवामा परेका ‘मोहर’ र ‘सिटामोल’लाई अब सीमित शोबाट प्रदर्शन जारी राख्दै लगानी सुरक्षित गर्नुपर्ने चुनौती छ । तर, ‘वार २’ र ‘कुली’ले कमजोर समीक्षा पाएकाले आइतबारबाट यी दुई फिल्मको व्यापारमा गिरावट आउन सक्ने देखिन्छ । त्यो हुँदा ‘मोहर’ र ‘सिटामोल’लाई ठूलो राहत मिल्नेछ । तर, शनिबारसम्मको व्यापार भने प्रभावित हुने निश्चित छ ।

