अभिनेता सुवास थापाले अमेरिकामा पनि फिल्म निर्माणमा हात हालेका छन्। यसअघि नेपालमा रहंदा “बिर्खेलाई चिन्छस्” फिल्म निर्माण गरेका अभिनेता थापाले सर्ट फिल्म ‘फ्रेनीया’ निर्माण गरेका हुन्।

हाल अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका अभिनेता थापाकै मुख्य भूमिका रहेको ‘फ्रेनीया’ २० मिनेटको रहेको छ। एक चित्रकारको मनोबैज्ञानिक संघर्ष र सृजनाको बिषयलाई उठान गरेर तयार पारिएको यस ‘साईकोलोजिकल ड्रामा’ फिल्मलाई सुवासले नै निर्देशन गरेका हुन्।
सुवास थापा, नारायण पुरी , सुप्रिम बांस्कोटा, नरेन्द्र साउद, हेमन्त न्यौपाने, बेजान फरामार्जी र सुवर्ण थापाले संयुक्त रूपमा निर्माण गरेको यस फिल्ममा कार्नोव्स्की र डेनिएला हुर्टाडोले पनि अभिनय गरेका छन्। बेजान फरामार्जीको छायांकन रहेको यो फिल्मलाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा प्रस्तुत गरिने अभिनेता थापाले बताएका छन्।
अमेरिकामा रहेर व्यवसायसंगै कलाकारितालाई पनि निरन्तरता दिईरहेका सुवासले राम्रो कथावस्तुको प्रस्ताव आएमा नेपाल गएर पनि अभिनयलाई निरन्तरता दिने बताएका छन्। नाट्यविधाबाट फिल्ममा प्रवेश गरेका थापा कुशल अभिनय गर्ने कलाकारको रूपमा चिनिन्छन्।

