
तिहारको छेको पारेर आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’को छायांकन सुरु भएको ६ महिना बढी भइसकेको छ । तर, अझै छायांकन सकिएको छैन । यतिबेला फिल्मको टिम एक गीत खिच्न भारतको राजस्थानमा पर्ने प्रख्यात सहर जयपुर पुगेको छ । बुधबारबाट त्यहाँ रोमान्टिक गीत खिच्न थालिएको निर्माता सरोज न्यौपानेले जानकारी दिए ।
छायांकन सेटबाट निर्माण टिमले उपलब्ध गराएको तस्वीरमा फिल्मका मुख्य अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मालाई रोमान्टिक भावमा देख्न सकिन्छ । गीतको नृत्य निर्देशन किरण थापाले गरिरहेका छन् । शनिबार जयपुरबाट काठमाडौं फर्किने तयारीमा रहेको निर्माण टिमले भारत जानुअघि काठमाडौंमा एक गीत खिचेको थियो ।
‘फर्की फर्की’का निर्देशक सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे (माग्ने बुढा), सुरक्षा पन्त, उषा खड्की लगायतको अभिनय रहेको छ । अनन्या फिल्म्सको ब्यानरमा बनेको यो फिल्मको केही हप्ताअघि पोस्टर सार्वजनिकसँगै निर्माण टिम प्रचारमा जुटिसकेको छ ।
फिल्मको निर्माणमा न्यौपानेलाई रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले सघाएका छन् । फिल्मको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहेका छन् । यसमा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विस्वास तिम्सिनाको पटकथा, हेमराज बिसीको कथा तथा दुलिप रेग्मीको छायांकन छ ।

