Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माइतीघर’ले घोषणा गर्‍यो ५ लाख राशीको नृत्य प्रतिस्पर्धा

फिल्मीखबर, काठमाडौं, 2025/08/13

maitighar

 

यसपालिको दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’को प्रचार अभियानलाई थप सशक्त बनाउन निर्माण पक्षले ठूलो पुरस्कार राशीको नृत्य प्रतिस्पर्धा घोषणा गरेको छ । आगामी भदौ पहिलो साता सार्वजनिक हुन लागेको फिल्ममा समावेश ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ गीतमा पाँच लाख राशीको प्रतिस्पर्धा घोषणा गरिएको हो ।

प्रतिस्पर्धामा सहभागी हुन इच्छुकले गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्म भिडियो बनाउनुपर्नेछ । ती भिडियोहरु ओएसआरको युट्युब, फेसबुक र टिकटकमार्फत सार्वजनिक गरिनेछ । सर्वाधिक भ्यूज पाउने र उत्कृष्ट कोरियोग्राफी भएको भिडियोलाई छनोट गरेर ५ लाख नगद पुरस्कार दिइने फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले बताए ।

भारतीय गायिका सञ्जिवनीको स्वरमा रहेको गीतमा भिडियो बनाएर भदौ २० गतेभित्र पठाइसक्नुपर्नेछ । फिल्म रिलिजको अघिल्लो दिन (असोज १२ गते) उत्कृष्ट भिडियो बनाउने व्यक्ति वा समूहको नाम घोषणा गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ । झन्डै ६० वर्षअघि बनेको ‘माइतीघर’को ‘वसन्त नै बस्न खोज्छ’ गीत भारतीय गायिका आशा भोसलेले गाएकी थिइन् ।

मिलन तामाङको निर्देशनमा बनेको फिल्ममा केदार घिमिरे, धीरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतको अभिनय रहेको छ । रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् । 

यसमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको डोआपी, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्वर्गीय जयदेवको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ । यो फिल्म तामाङ संस्कृतिको कथामा आधारित छ ।