.jpg)
कलाकार केदार घिमिरेको पर्याय बनेको नाम हो, ‘माग्ने बुढा’ । ‘मेरी बाँस्सै’ सिरियलको उक्त पात्रले उनलाई दर्शकमाझ पहिचान दिलाएको थियो । अहिले उनी वास्तविक नामले भन्दा सिरियलकै पात्रले बढी चिनिन्छन् । सिरियल बन्द भएपछि फिल्ममा आएका उनलाई ‘माग्ने बुढा’ पात्रले भने छाडेको छैन । पहिलो फिल्म ‘६ एकान ६’मा उनी सोही पात्रको लवज र गेटअपमा देखिएका थिए ।
‘वडा नम्बर ६’पछि उनले आफ्नो गेटअपमा परिवर्तन गरिरहेको भए पनि बोली र लवज ‘माग्ने बुढा’ पात्रको टुटेको छैन । हुँदाहुँदै उनले मुख्य भूमिकामा अभिनय गरेको पहिलो फिल्म ‘माग्ने राजा’मा पनि बोली, लवज र शैली उही छ । जसले गर्दा केदारले फरक भूमिकामा आफूलाई प्रस्तुत गर्नै नचाहेको टिप्पणी भैरहेको छ । फिल्मको टिजर–ट्रेलरमा समेत यस्ता प्रतिक्रिया थुप्रै आएका छन् ।
आखिर केदारलाई ‘माग्ने बुढा’को रुपमा मात्र प्रस्तुत हुनुपर्ने बाध्यता किन छ ? कि मेकरहरु उनलाई फरक भूमिकामा प्रस्तुत गर्नै चाहँदैनन् ? केदारका अनुसार यो आफ्नो नभइ मेकरहरुको चाहना हो । मंगलबार पत्रकारसँगको भेटमा उनले भने, ‘म त्यो लवज र गेटअप छाडेर नयाँ पात्र गर्न तयार छु । तर, मैले फरक गरेको किन्न मेकरहरु तयार हुन्छन् कि हुँदैनन् भन्ने महत्त्वपूर्ण कुरा हो ।’
फिल्ममा ‘माग्ने बुढा’ पात्रको लवज नटुटेको भए पनि आफूले गेटअपमा भने परिवर्तन गरिरहेको उनको भनाइ छ । ‘मैले ‘छ एकान छ’मा आउँदा माकल टोपी आधा खोलेको थिएँ । ‘वडा नम्बर ६’ र ‘छक्का पञ्जा’मा त्यो टोपी नै लगाइनँ । त्यसमा ‘माग्ने बुढा’को लवज मात्र थियो । ‘छ माया छपक्कै’मा पनि गेटअप फरक नै थियो । मैले सकेसम्म आफ्नो तर्फबाट फरक गर्ने प्रयास गरेको छु ।’
तर, ‘माग्ने बुढा’को लवज छाड्न मेकरहरु नै तयार नरहेको केदारको गुनासो छ । यद्यपि, उनी आफूले अहिलेसम्म अभिनय गरेका फिल्ममध्ये गेटअपमा सबैभन्दा फरक देखिएको ‘माग्ने राजा’लाई मान्छन् । उनी भन्छन्, ‘यसअघिका फिल्ममा भन्दा यसमा मलाई धेरै फरक देखाइएको छ । मलाई स्टाइलिस देखाउन अनेक गरिएको छ । एकपटक त म यो गर्न सक्छु र भन्ने पनि भएको थियो ।’
फिल्मका निर्देशक ऋषि लामिछाने ‘माग्ने बुढा’को बोली र भाषामा आम नेपालीले अपनत्व महसुस गर्ने भएकाले त्यसलाई परिवर्तन नगरिएको बताउँछन् । आफूले भन्न खोजेको कथा त्यो पात्रको भाषाबाट भन्दा दर्शकले बुझ्ने भएकाले पनि त्यसलाई निरन्तरता दिएको उनको भनाइ छ । फिल्मको व्यवसायका लागि केदारको बोली र लवज परिवर्तन नगरिएको पनि उनी निर्धक्क स्वीकार्छन् ।

