Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीताको ‘पार्वती’ खेल्दै दीपाश्री

फिल्मीखबर, काठमाडौं, 2025/08/13

deepa shree n neetaa (2)

 

‘छक्का पञ्जा’ समूहले अर्को वर्ष मात्र नयाँ फिल्म बनाउने भएपछि दीपकराज गिरीबाहेक यो समूहका अन्य कलाकारहरुले बाहिरी ब्यानरका एकपछि अर्को फिल्ममा काम गरिरहेका छन् । केदार घिमिरे (माग्ने बुढा)ले गत वर्ष मात्र तीनवटा फिल्ममा अभिनय गरे । ‘छक्का पञ्जा’ श्रृंखलाकी निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि लगातार फिल्ममा काम गरिरहेकी छन् । 

यतिबेला ‘झरीपछिको इन्द्रेणी’को छायांकनमा व्यस्त रहेकी दीपाश्री अब अर्को नयाँ फिल्ममा आबद्ध भएकी छन् । अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘पार्वती’मा उनी अनुबन्धित भएकी हुन् । मंगलबार दुवै पक्षबीच लिखित सम्झौता भएको हो । नीताका अनुसार फिल्ममा दीपाश्रीको भूमिका महत्त्वपूर्ण रहेको छ ।

नीता स्वयंले मुख्य भूमिकामा अभिनय गर्न लागेको फिल्ममा डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा जोडिएका छन् । आगामी असोजदेखि छायांकन सुरु हुने यो फिल्मको गत शनिबार दुईवटा पोस्टर सार्वजनिक गर्दै आगामी माघ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । 

नीता फिल्म्सको ब्यानरमा बन्ने फिल्मको कथा नीता स्वयंले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । भारतीय छायाँकार कवीर लाल र शाहिद लालले फिल्म खिच्नेछन् । कवीरले नीताको अघिल्लो फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन गरेका थिए । फिल्ममा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाको लगानी रहनेछ ।