
सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा बनेको फिल्म ‘सतीदेवी’को अमेरिका प्रदर्शन तय भएको छ । हरितालिका तीजको अवसर पारेर आउँदो शनिबार अर्थात साउन ३१ गते (१६ अगस्ट) अमेरिकाको भर्जिनिया राज्यमा फिल्मको विशेष प्रदर्शनी हुन लागेको हो । विदेशमा ‘सतीदेवी’को प्रदर्शन यो पहिलो हुनेछ ।
तन्दुरी फेयरफ्याक्स पार्टी प्यालेसमा साँझ ५ बजे सुरु हुने फिल्मको विशेष शोको टिकट मूल्य १५ डलर राखिएको छ । पुष्कर पन्तको समूहले अमेरिकामा फिल्म देखाउन लागेको हो । ‘ठूली’ फिल्मका निर्माता समेत रहेका पन्तले महिला प्रधान फिल्म अझै बन्नुपर्छ भन्ने उद्देश्यले ‘सतीदेवी’को अमेरिकामा विशेष शो राखिएको बताए ।
निर्देशक सुवेदीले भर्जिनियापछि अन्य स्टेटहरुमा पनि फिल्मको विशेष शो हुन लागेको जानकारी दिएका छन् । चलचित्र विकास बोर्डबाट राष्ट्रिय चलचित्र अवार्ड-२०८० मा विशेष चलचित्रको पुरस्कार प्राप्त गरेको ‘सतीदेवी’ले अहिलेसम्म विभिन्न विधामा एक दर्जनभन्दा बढी अवार्ड जितिसकेको छ ।
निर्देशक सुवेदी स्वयंको लेखन तथा निर्माण रहेको फिल्ममा मलिका महत, रमेश बुढाथोकी, सन्दिपबाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, बालकलाकार हर्षिका वली र मञ्जिला बानियाँ लगायतको अभिनय छ । फिल्मले अंश र वंश धान्न छोरा नै चाहिन्छ भन्ने पितृसत्तात्मक सोच र चिन्तनप्रति प्रश्न गरेको छ ।

